१ कार्तिक २०८३, आइतबार | October 18, 2026

हराउँदै सखिया नृत्यको रौनक



कञ्चनपुर । दशैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ ।

कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए । ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ,’ उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं ।’

गाउँका अधिकांश व्यक्ति व्यावसायीक कार्यमा सङ्लग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदासमेत नृत्यको पहिला जस्तो महत्व नरहेको उनले बताए । उनका अनुसार पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पटयार लाग्ने भएपछि हाल सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ ।

‘धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा बुढापाकाकोे अटुट आस्था र धार्मीक विश्वास रहेकाले हालसम्म जोगाउन सकिएको छ,’ उनले भने, ‘सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको सखिया नृत्य जोगाउनका लागि युवा पनि सक्रिय भएर लागेका छन् ।’

सामुहिकरुपमा देखाइने सखिया नृत्य गाउँका घर घरमा गएर देखाउने चलन थारु समुदायमा रहेको छ । थारु गाँउका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा (झाँक्री)ले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ । सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बुद्धिराम चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन । जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ ।

पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ रहेको छ । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चितस्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै थारु संस्कृतिका जानकार धनबहादुर चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाइ बलि दिने परम्परागत चलनसमेत रहेको छ ।’

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्य हुनेभएपनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्दछन् ।

अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई नवमी र दशैंमा दिउसो नाच्ने गरिन्छ । दिउसो पख नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लिलालाई आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् । यस नृत्यलाई दशैंका दिन धनी, गरिव, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग विर्सीएर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ३८ बजे

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर

बुटवलबाट अटो रिक्सा चोरी गर्ने गिरोहका ५ जना पक्राउ

बुटवल । बुटवलबाट अटो रिक्सा चोरी गर्ने कार्यमा संलग्न गिरोहका