२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

चिनीको मूल्यमा मनपरी



काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ ।

ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै रहेकी प्रेमकला महर्जनले घर छेवैको पसलमा प्रतिकिलो १ सय रुपैयाँ किलोका दरले ५ किलो चिनी किनेको बताइन् ।

खुद्रा व्यापार संघका अनुसार ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको हो । ठूला व्यापारीहरूले सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै खुद्रा व्यापारीहरूसँग नै प्रतिकिलो ९५ रुपैयाँमा चिनी विक्री गर्न थालेपछि खुद्रा व्यापारीहरूले बाध्य भएर मूल्य बढाएर बेच्नुपरेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘खुद्रा व्यापारीले खानुपर्ने जति फाइदा खाएर बेच्दा प्रतिकिलो १ सय ५ रुपैयाँ किलोमा बेच्नुपर्ने हुन्छ । तर, यसो गर्दा नियमित ग्राहक भड्किने डरले हामीले प्रतिकिलो ९५ रुपैयाँसम्मले विक्री गर्ने गरेका छौं । कोहीकोही व्यापारीले १ सय रुपैयाँसम्मले पनि विक्री गरेको सुनिएको छ तर हामीले त्यसो नगर्न व्यापारीहरूलाई भनेका छौं,’ उनले भने ।

सरकारी अनुदानको चिनी खरीदको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले करीब १० महीनाअघि चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । आपूर्तिले स्वीकृति प्रदानको प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको भए पनि अर्थ मन्त्रालयले उक्त पत्रमा कुनै पनि प्रक्रिया अघि नबढाएकाले सरकारी कम्पनीसँग अहिले चिनीको अभाव भएको हो ।

साल्ट ट्रेडिङसँँग अहिले करीब १ सय ५० मेट्रिकटन मात्र चिनी मौज्दात रहेको छ । मौज्दात नै कम भएपछि कर्पोरेशनले अहिले ग्राहकलाई बेच्नुपर्ने भन्दा कम परिमाणमा चिनी विक्री गरिरहेको छ । यसअघि कर्पोरेशनले तिहारको समयमा प्रतिग्राहक ६ किलोका दरले चिनी विक्री गर्ने गरेको भए पनि यस वर्षको तिहारमा मौज्दात सकिने डरले एकजना ग्राहकलाई २ किलोका दरले विक्री गरिरहेको छ ।

उपत्यकाबाहिरका उपभोक्ताले यस वर्ष सरकारी अनुदानको चिनी किन्न नपाएको कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । कर्पोरेशनसँग चिनी नहुँदा बजार मूल्य नियन्त्रणमा समेत समस्या भएको उनले बताए । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ५४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२