८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले दशौं महाधिवेशन : महासचिवमा विष्णु कि शंकर ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् ।

महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरू रणनीतिमा जुटेका छन् । १० औं महाधिवेशनमा महासचिवका पाँच जना दाबेदार देखिएका छन् ।

वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुई मत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट भने धक्का लागेको छ ।

उता, अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ ? भन्ने कार्यकर्तामा कौतुहलता बढेको छ । १० औं महाधिवेशनमा महासचिव बन्ने दौडमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डेलगायत चर्चामा छन् ।

अध्यक्ष ओली समूहबाटै पौडेल र पोखरेल महासचिवका बलियो दाबेदार हुन् । नवौं महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।

एमालेमा महासचिवका मुख्य दाबेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । साथै, उपमहासचिव पौडेल संगठन विभाग प्रमुख तथा दुईपटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । ओलीनिकट मानिने नेता जसरी पनि एमाले महासचिव हुनुपर्ने रणनीतिमा लागेका छन् ।

ओलीनिकट पौडेल र पोखरेल दुवै लुम्बिनी प्रदेशका नेता हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेललाई ओलीको मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको छ । जबजको व्याख्याता पोखरेललाई भण्डारीले भित्रभित्रै सहयोग गरिरहेको स्रोतको दाबी छ ।

आठौं महाधिवेशनसम्म पौडेल माधव नेपाल पक्षमा थिए । तर, नवौं महाधिवेशनमा आइपुग्दा उनी ओली समूहबाट उपमहासचिव बनेका थिए । नेकपाको आन्तरिक विवादका समयमा ओली र पुष्पकमल दाहालसँग बराबरीजस्तै छलफलमा उनी जुटेका थिए ।

नेपालकै ठूलो, दुई तिहाइ जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर सफल भूमिका निर्वाह गरेका पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । तर, सांगठनिक रूपमा बलियो भए पनि सैद्धान्तिक रूपमा जबजको व्याख्या गर्न पूर्ण नभएको भन्ने उनको आलोचना गर्नेहरूको तर्क छ ।

पोखरेल पार्टीको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए पनि उनी पार्टी राजनीतिको केन्द्रमै रहँदै आए । नवौं महाधिवेशनमा दुई उपमहासचिवका लागि भएको निर्वाचनमा भुसाल र पौडेल विजयी हुँदा पोखरेल पराजित भएका थिए ।

पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैं जबज केन्द्रित हुने भएकाले पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषक बताउँछन् । जबजप्रति प्रतिबद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति भण्डारीले पनि पोखरेलाई साथ दिनेछन् । यसैले पोखरेल महासचिव बन्न सक्ने उनको पक्षमा बोल्ने नेताहरूको भनाइ छ ।

तर, पोखरेलका आलोचक पनि छन् । उनका आलोचकहरू माधव नेपाल समूह बाहिरिँदा आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन नसकेको बताउँदै आएका छन् । साथै, मुख्यमन्त्री बन्दा पनि पार्टीभित्रको विवाद मिलाउन नसकेकाले पोखरेलले महासचिव चलाउन नसक्ने उनका आलोचकको तर्क छ ।

यस्तै, नवौं महाधिवेशनमा पोखरेलसँग ६ मतले पराजित सुरेन्द्र पाण्डे लामो समय माधवकुमार नेपालसँग नजिक थिए । तर, एमालेबाट विभाजन हुने समयमा पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी महासचिवका लागि तेस्रोपटक प्रयास गर्दै छन् ।

पाण्डे तत्कालीन नेकपाको महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेका थिए । एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए ।

यसपटक उनी अध्यक्ष ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । पाण्डेकै गृह जिल्लामा १० औं महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी, घनश्याम भुसालले समेत महासचिवका लागि तयारी गरेका छन् । उपमहासचिवको जिम्मेवारी पूरा गर्दै गरेका भुसालले १० भाइ समूहको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर, भुसालले अहिलेसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अलमलमा छन् ।

१० भाइ समूहबाट उपाध्यक्ष डा। भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भुसाल अहिले अलमलमा परेका हुन् । एमालेभित्र वैचारिक नेताका रूपमा चिनिने भुसाल लामो समय नेपाल समूहमा रहेका काम गरेका थिए ।

यता, एमाले सचिव रहेका पृथ्वीसुब्बा गुरुङले समेत महासचिवमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री रहेका गुरुङ सर्वसम्मत महासचिव हुने रणनीतिमा रहेका छन् ।

ओलीनिकटका गुरुङ ओली समूहबाटै महासचिवको उम्मेदवार भएका पौडेल र पोखरेलसँग समेत आन्तरिक रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । ओली समूहबाटै तीन नेताले महासचिवमा दाबेदारी पेस गरेपछि अहिले ओलीलाई समेत नेताहरूको व्यवस्थापन गर्न सकस भएको छ ।

एमालेको १० औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ११ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु