१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवाको पाँच दशक लामो उतारचढावपूर्ण यात्रा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् ।

प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४ औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएका हुन् । यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गरेका थिए । प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गरेका थिए ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएको थियो । सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए । उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उनी सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी काँग्रेसको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका-संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराएका थिए ।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उनलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ०२ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा