१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

श्रम स्वीकृतिको काम २ माघदेखि अनलाइनबाट मात्रै



काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए । उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए ।

२०७७ सालको पुस महिनाबाट अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको वैदेशिक रोजगार विभागले हालसम्म भौतिक रूपमा उपस्थित र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने काम गर्दै आएको छ । त्यसअघि श्रम स्वीकृति लिन श्रम ग्राम कार्यालय धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै वैदेशिक रोजगार विभागले एक वर्षअघिदेखि अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने गरिरहेको थियो ।

विभागको यस्तो नयाँ व्यवस्थासँगै अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । अनलाइन सेवा लिन सेवाग्राहीले सजिलै पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेभसाइडको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

आवश्यक सबै प्रक्रिया पुर्याएर यसरी फाराम अपलोड गरेपछि आवेदकले आफ्नो युजरनेम र पासवर्ड सुरक्षित राख्न र म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने शुल्क रकम पनि सहज रूपमा अनलाइन भुक्तानी प्रदायकमार्फत नै बुझाउन पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।

यसैगरी, मन्त्रालयले अनलाइन कागजात जाँच तथा प्रमाणीकरण गर्न समय लाग्ने भएकाले आपmूलाई आवश्यक पर्ने दिनभन्दा कम्तीमा एकसाताअघि फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको व्यवस्था मिलाउन आह्वान गरेको छ । जसका लागि उडान हुने मितिसम्म यसरी प्रदान गरिएको श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सोहीबमोजिम गर्न पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।

मन्त्रालयले जानकारी गराएको पछिल्लो विवरणअनुसार पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बिमाबापत उमेरअनुसार १८ देखि ३५ वर्षसम्मका लागि प्रतिव्यक्ति ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि प्रतिव्यक्ति ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्मका लागि प्रतिव्यक्ति ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यसैगरी, वैदेशिक रोजगार कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । गत वर्षदेखि अनलाइन सेवा सञ्चालनमा आएदेखि हाल पुनः श्रम स्वीकृति लिनेको चाप विस्तारै बढिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले अब वैदेशिक रोजगारीमा जान आवश्यक म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन भुक्तानी प्रदायकमार्फत नै बुझाएर आफू बसेकै स्थानबाट सहज रूपमा अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिलाई पुरानै विवरणको आधारमा पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रियामा जानुअघि कामदारले आफ्नो राहदानी, पासपोर्ट साइजको तस्बिर, आफू जाने मुलुकबाट आएको कामदार भिसा एवं पुरानो भिसा र राहदानीलगायत विभिन्न ७ किसिमका कागजात सकंलन गरी सम्पूर्ण विवरण स्क्यान गरी वैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयं आफैले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर राखेर आवेदन दिनुपर्नेहुन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गर्दा विदेशमा रहुन्जेल आवश्यक सूचना प्राप्त हुने विभागले जनाएको छ ।

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था सञ्चालनमा आएसँगै अब विदेशमा रहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यताको अत्य हुने विभागले जनाएको छ । विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृतिको सेवा लिनेहरूले आवश्यक विभिन्न सात किसिमका कागजात तयार पारेर वैदेशिक रोजगार विभागको आधिकारिक वेभसाइड खोलेर अनलाइन फाराम भर्दा माग भएका विभिन्न चरण पूरा गर्नुपर्नेहुन्छ । त्यसपछि आवेदकको फाराम समिट भएसँगै श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा हुनेछ ।

जसका लागि सुरुमा विभागको वेभसाइड ‘डफी डट जीओभी डट एनपी’मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्नेहुन्छ । अथवा सिधै ‘फिमिस डट डफी डट जीओभी डट एनपी’मा गएर पनि खोल्न सकिनेछ । अनलाइन सेवा लिने क्रममा यसअघि श्रम स्वीकृति लिएको छ भने कामदारले लिएको पासवर्ड सम्बन्धित व्यक्तिसँगै सुरक्षित हुन्छ । त्यसैले कामदार आफैले सो युजरनेम र पासवर्ड प्रयोग गरी वेभसाइड खोल्न सक्नेछन् ।

सो युजरनेम र पासवर्ड प्रयोगगरी अर्कोपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरण हेर्न आवश्यक पर्ने भएकाले कामदार स्वयंले आफ्नो युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्नेछ । त्यसपछि विभिन्न चरणमा आफ्नो विवरण र आवश्यक कागजात समावेश गर्दै जान सकिने सहज व्यवस्था मिलाइएको विभागले जनाएको छ । अनलाइन सेवा सञ्चालनमा माग भएका सबै चरण पूरा भएपछि अनलाइनमार्फत कामदारको श्रम स्वीकृतिका लागि आवेदन पेस हुने र श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

अनलाइन फारम भरिसकेपछि कामदारले कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ । हाल विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौंको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

विभागले पहिले आएको आवेदनलाई पहिलो नम्बरमा स्वतः मिलेर बस्ने व्यवस्था मिलाएको छ । स्वीकृति प्रदान भएपछि वा कुनै कारणले आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारणसहित कामदारले फारम भर्दा उल्लेख गरेको मोबाइल वा इमेलमा सूचना जाने व्यवस्था मिलाएको छ । जसका कारण सम्बन्धित कामदारले आफूलाई आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने विभागको दाबी छ ।

यस्ता छन् आवश्यक कागजात

– पासपोर्ट साइजको फोटोको स्क्यान कपी
– राहदानीको पेज २, ३ र ३१ को स्क्यान कपी
– सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी
– पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुवैको स्क्यान कपी ।
– अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी
– यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी
– सम्बन्धित रोजगारदाता मुलुकस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगको प्रमाणीकरणपत्र

आवश्यक पर्ने भनी तोकिएको अवस्थामा त्यसको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजात भए ती सबै स्क्यान गरेर पठाउनुपर्नेछ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ४६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।