१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

लायन्सको बदमासी : प्रसूति गृह बनाउन सरकारबाट जग्गा लिएर निजीसँग सहकार्य, अहिले नर्सिङ कलेज चलाइयो



चितवन ।२१ वर्षअगाडि नै भरतपुर अस्पतालमा प्रसूति गराउनेको चापलाई मध्येनगर गर्दै भरतपुरमा एउटा प्रसुति गृहको आवश्यकता महसुस गरियो । र, सुरक्षित र सर्वसुलभ प्रसूति सेवाको अभावमा कुनै पनि आमा र बच्चाले ज्यान गुमाउन नपरोस् भनि लायन्स क्लब अफ नारायणगढ चित्रवनले प्रसूति गृहको अवधारणा ल्यायो ।

सामाजिक संस्थाको रुपमा रहेको क्लबले लायन्स प्रसूति गृह निर्माणका लागि तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा पनि माग गर्‍यो । तत्कालीन मेयर हेमबहादुर पियाले नगरको बोर्ड बैठकबाट निर्णय गराई क्लबलाई दुई पटकमा गरी नगरवनको डेढ बिघा जग्गा दिए । क्लबलाई जग्गा दिएको २१ वर्ष पुगिसक्दा पनि प्रसूति गृह भने बन्न सकेको छैन ।

बरु प्रसूति गृह बनाउन महानगरले दिएको जग्गामा बालकुमारी कलेजले भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तत्कालीन नगरपालिका महानगरपालिका बनेर जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्ष पुग्न लाग्दा पनि यस विषयमा कुनै कदम चालिएको छैन । लामो समयसम्म महानगरले दिएको जग्गामा प्रसूति गृह निर्माण नभएपछि गत वर्ष महानगरका कानुन अधिकृत खगेश्वर अधिकारीले क्लबलाई पत्राचार गरी प्रसूति गृह निर्माणमा भएको ढिलाईबारे स्पष्टिकरण सोधेका थिए ।

छानविन समितिले निर्णय गर्न सकेन

क्लबले आफूहरुबाट कमजोरी भएको र छिट्टै नै प्रसूति गृह बनाउने प्रतिबद्धता जनाएको थियो । त्यसपछि प्रसूति गृह निर्माणका लागि दिएको जग्गाको छानविन गर्न भन्दै महानगर(१० का अध्यक्ष एवम् महानगर प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा छानविन समिति बनायो । छानविन समितिले कुनै निर्णय नै गर्न सकेन ।

छानविन समितिको सदस्यमा वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डित र नगर कार्यपालिका सदस्य चक्र रुचाल थिए । समितिको सदस्य सचिवमा कानुन अधिकृत खगेश्वर अधिकारी थिए । प्रसूति गृह निर्माण नभए जग्गा फिर्ता लिने सम्बन्धमा सबै सदस्य एकमत नभएपछि समितिले कुनै निर्णय नै गर्न नसकेको एक सदस्यले बताए ।

‘जग्गा फिर्ता लिनुपर्ने कुरामा समितिका संयोजक भण्डारी सहमत थिए । तर अन्य सदस्य सहमत भएनन्,ु एक सदस्यले भने, ‘सबैको एउटै कुरा नआएपछि निर्णय लेख्ने काम भएन ।’ महत्वपूर्ण विषयमा छानविन समितिले नै निर्णय लिन नसकेपछि जग्गाको विषय अन्योल बनेको छ ।

‘प्रसूति गृह बनाउने भनेर कलेज चलाउनुभयो । त्यसमा हाम्रो आपत्ति छ । प्रसूति गृह बनाउने भए हामी अहिले पनि सहमत छौँ । यदि प्रसूति गृह नबनाउने हो भने हामी जग्गा दिँदैनौँ,’ भण्डारीले भने । कानुन अधिकृत अधिकारीले राजीनामा दिएपछि त्यो विषय अन्योल बनेको उनको भनाइ छ ।

सार्वजनिक संघसंस्थाले सार्वजनिक जग्गामा कुनै पनि संरचना निर्माण गर्ने र भाडामा लगाउने वा त्यसबाट आर्थिक लाभ लिन नपाउने भनेर महानगरले दुई वर्षअघि निर्णय गरिसकेको उनले बताए । निस्वार्थ रुपमा प्रसूति गृह निर्माण गर्ने भनिएकाले त्यतिबेला क्लबलाई जग्गा दिइएको उनको भनाइ छ ।

प्रसूति गृह बनाउन महानगरले दिएको जग्गामा बालकुमारी कलेजले भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । भवनको नक्सापास समेत भएको छैन । कलेजको आफ्नै अस्पताल नभएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिईभिटी०ले यसवर्षदेखि पिसिएल नर्सिङमा भर्ना अनुमतिसमेत दिएन ।

प्रसूति गृह बन्न नसक्दा भरतपुर अस्पतालमा सुत्केरी भुईँमा सुतेर उपचार गराउन बाध्य छन् । दिनमा ३० जनासम्म सुत्केरीको व्यवस्थापन र उपचार गर्न सक्ने भरतपुर अस्पतालको क्षमता हो । तर, अस्पतालले दिनमा ४० देखि ५० जनासम्म सुत्केरीको उपचार गर्दै आएको छ । पर्याप्त बेड नहुँदा अस्पतालको चिसो भुईमा म्याट बिच्छ्याएर सुत्केरी सुत्न बाध्य छन् ।

क्लबले यसरी पाएको थियो जग्गा

लायन्स प्रसूति गृह निर्माणको लागि लायन्स क्लब अफ नारायणगढ चित्रवनले तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा माग गरेको थियो । नगरपालिकाको २२ साउ २०५७ को बोर्ड बैठकले क्लबलाई प्रसूति गृह बनाउन नगरवनको १० कठ्ठा जग्गा दिने निर्णय गरेको हो ।

१० कठ्ठाले नपुग्ने भएपछि क्लबले नगरपालिकासँग फेरि थप जग्गा माग्यो । नगरपालिकाको २४ जेठ २०५९ को बोर्ड बैठकले क्लबलाई नगरकै थप एक बिघा जग्गा दिने निर्णय गरेको हो । त्यतिबेला नगरको प्रमुख हेमबहादुर पिया थिए भने लायन्स क्लब अफ नारायणगढ चित्रवनको अध्यक्ष युसुफुद्धिन पाल्पाली थिए ।

क्लबले जग्गाको भोगाधिकार पाइसकेपछि लायन्सका विभिन्न क्लबहरुले प्रसुति गृह निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । लायन्स क्लब अफ नारायणगढ चित्रवनले दुई करोड एक लाख ५० हजार रुपैयाँमा इमर्जेन्सी र उपकरण राख्ने कोठासहित ३२ कोठाको प्रसूति गृह निर्माण र उपकरण खरिद गर्नेगरी इस्टिमेट तयार गरेको थियो ।

प्रसूति गृहमा प्रतिमहिना २५ सय जनाले प्रसूति सेवा लिन सक्ने भनिएको थियो । तर क्लब एक्लैले प्रसुति गृह बनाउने आँट नगरेपछि नगरपालिकाबाट अनुमति नै नलिई बालकुमारी कलेजसँग सहकार्यको सम्झौता गर्‍यो । कलेजले आफै भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अनुमति विना नर्सिङ भवन निर्माण

भरतपुर महानगरपालिकाको अनुमति विना बालकुमारी कलेजले नर्सिङ पढाउनका लागि भवन बनाएको हो । भवनको अझैसम्म पनि नक्सापास नभएको बालकुमारी कलेज सञ्चालक समितिका अध्यक्ष जगन्नाथ पौडेलले स्वीकार गरे ।

कलेजले भवन निर्माण गरेर विंस। २०५८ सालदेखि नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको हो । भवन निर्माण गर्दा चार करोडभन्दा बढी खर्च भएको उनले बताए । नर्सिङ कार्यक्रमको लागि भर्ना अनुमति नपाएपछि कलेजले अब त्यहि भवनमा हेल्थ असिस्टेन्ट [एचए] सञ्चालन गर्ने तयारी गरेको छ ।

‘भवन हाम्रै पैसाले बनाएको हो । त्यसमा केही प्राविधिक कुरा मिलेको छैन । कलेज पनि सार्वजनिक संस्था हो । मुनाफारहित संस्था हो । यसले अरु कलेजभन्दा कम पैसामा पढाउँछ । यसको भोगाधिकारको विषयमा कतै विवाद छैन । नगरपालिका पनि सकारात्मक नै छ,’ उनले भने ।

लायन्स क्लबसँगको सहकार्यमा १५ बेडको प्रसुति गृह सञ्चालनका लागि छलफल भइरहेको उनी बताउँछन् । त्यसको स्वीकृतिका लागि सरकारलाई पनि आग्रह गरिएको उनले बताए ।

‘प्रसूति गृह बनाउन लायन्स क्लबले हामी पनि अन्तर्राष्ट्रिय स्तरमा पैसा जुटाउँछौँ । तपाईँहरु पनि गर्नुस् भन्ने एउटा सहमति भएको हो । त्यो चाँहि वर्षौँ वित्यो, म आएको बल्ल चार वर्ष भयो,’ उनले भने, ‘भवन बनाउँदा चाँहि अलिकति ढंग पुगेको छैन । यसअघि चिरञ्जिवी श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगबाट ल्याएको पैसा त्यहाँ खर्च गरेको हो । अब त्यहाँ चाँहि नक्सा पास पनि नगरिकन खर्च गरेको हुनाले त्यसमा अलिकति विवाद छ ।’

पिसिएल नर्सिङको कार्यक्रममा अहिले पनि १२० जना विद्यार्थी अध्ययरत छन् । तीन वर्षे यस कार्यक्रमका लागि एउटा विद्यार्थीबाट कलेजले चार लाख ६० हजार रुपैयाँ लिने गरेको छ ।

लायन्स प्रसूति गृह बन्नुपर्छ : लायन्स गभर्नर

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बीटुका डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरले दिएको जग्गामा लायन्स प्रसूति गृह नै बन्नुपर्ने बताउँछन् । प्रसूति गृह र आवश्यक उपकरणको सम्बन्धमा डिष्ट्रिक्टले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘पैसाको समस्या हुँदैन । दानवीरहरु हुनुहुन्छ । एउटा सेवा गर्ने भनेपछि पैसा जुटाउन सकिन्छ । प्रसूति गृह निर्माणको लागि हामी तयार छौँ । सकारात्मक काम गर्ने भनेर एजेण्डा ल्याउँदा पैसा गज्जबसँग उठ्छ,’ उनले भने । यस विषयमा नेतृत्वले एउटा निर्णय गरेर अघि बढ्ने बताए ।

अस्पतालको लागि सरकारी स्वीकृति लिन नसकिँदा प्रसूति गृह निर्माणमा ढिलाई भएको लायन्स क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष केशवप्रसाद लामिछानेले बताए । स्वीकृतिका लागि आफू अध्यक्ष भइसकेपछि प्रकृया थालेको उनले बताए ।

‘प्रसूति गृहको स्वीकृति लिनुपर्नेलगायतका विविध कारणले गर्दा काम गर्न सकिएन । हामीले सुरुमा १५ बेडबाट सुरु गरेर सय बेडको प्रसुति गृह बनाउने योजना बनाएका थियौँ’, उनले भने, ‘म अध्यक्ष भइसकेपछि प्रसुति गृहको लागि कागजपत्र तयार गर्ने र त्यहि अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडा र स्वास्थ्य विभागमा समेत अवलोकनका लागि परिपत्र गरिएको छ ।’

लायन्स इन्टरनेशनलसँग समन्वय गरेर १५ बेडबाट अस्पताल सुरु गर्ने तयारी रहेको उनले बताए । कलेजले नक्सापास नै नगरि बनाएको भवनमा अस्पताल बनाउने क्लबको योजना छ । प्रसुति गृह निर्माण गर्न लगानीको समस्या भएपछि शैक्षिक कार्यक्रमसँगै अस्पताल सञ्चालन गर्ने उद्देश्यले कलेजसँग हातेमालो गरिएको उनले बताए ।

‘बालकुमारी कलेजले पनि हामीले थालेको लायन्स प्रसुति गृह बनाउने अभियानमा साथ दिन्छ भन्ने विश्वास छ । बालकुमारी कलेज अघि बढ्दैन भने पनि हामी एक्लै अघि बढेर भएपनि लायन्स क्लबले प्रसुति गृह निर्माण गरेरै छाड्छौँ’, उनले भने ।

भवन निर्माणमा विभिन्न क्लबहरुले लगानी गर्ने बताएका थिए । अस्पतालको स्वीकृति लिन नसक्दा डिष्ट्रिक्टको पैसासमेत फिर्ता भएको उनले बताए । नारायणगढ पुलचोकबाट दक्षिणतर्फ नगरवनको छेउमा उक्त जग्गा छ । कलेजले बनाएको भवनको एउटा कोठामा चित्रवनको कार्यालय पनि छ ।

लायन्स क्लब अफ नारायणगढ चित्रवनको [सन् २००७र८]का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बालकुमारी कलेजका कारण प्रसुति गृहको काम अघि बढाउन नसकिएको आरोप लगाए ।

‘हामीले उहाँहरुलाई जबरजस्ती गर्न पनि गाह्रो । हामी पनि सामाजिक संस्था भयौँ । हाम्रो मुख्य समस्या त्यहाँनेर हो’, उनले भने, ‘लायन्स प्रसुति गृह भनेर राख्ने र त्यसको सञ्चालन चाँहि बालकुमारीले गर्ने भन्ने उद्देश्य थियो । लायन्सले इन्टरनेशनलबाट फण्ड ल्याउने । त्यतिबेला ७५ हजार डलर पास भएको थियो । अरु बालकुमारीले लगाउने भन्ने थियो ।’

अब लायन्स क्लब चित्रवन नै अघि सरेर आफ्नै नेतृत्वमा हस्पिटल बनाउनुपर्ने उनले बताए । आवश्यक परेर कलेजसँगको सम्झौता रद्द गरेर भएपनि क्लब अघि बढ्नुपर्ने उनी बताउँछन् । तर क्लबका पदाधिकारी भने कलेजसँग दुश्मनी मोल्न तयार छैनन् ।

प्रसुति गृह निर्माणका लागि सिमेन्ट किन्ने पैसा संकलन गर्न क्लबले त्यतिबेला सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सांस्कृतिक कार्यक्रमबाट उठेको पैसाले करिब डेढ सय बोरा सिमेन्ट किनिएको उनले बताए ।

अस्पतालले धान्नै नसक्ने चाप

भरतपुर अस्पतालका विभागिय प्रमुख एवम् स्त्री तथा प्रसुतिरोग विशेषज्ञ प्राडा सुनिलमणी पोखरेलले जिल्लामा प्रसुति गृह अत्यावश्यक भइसकेको बताए । जिल्लाको जनसंख्यासंगै बाहिरबाट बसाइसरी आउनेको संख्या समेत बढ्दै गएकोले पछिल्लो १० वर्षमा प्रसुति गराउनेको संख्या दोब्बरले बढेको उनी बताउँछन् ।

उनी भरतपुर अस्पतालमा १० वर्षदेखि कार्यरत छन् । १० वर्षअगाडि वर्षमा छ हजार डेलिभरी हुन्थ्यो भने अहिले वर्षमा १२ देखि १४ हजार डेलिभरी हुने उनले बताए ।

‘विगत १० वर्षमा डेलिभरी गराउनेको संख्या दोब्बरले बढेका छन् । त्यसले गर्दा हामीले अहिलेसम्म दक्ष जनशक्ति र भौतिक पूर्वाधारहरु थपिरहेको भएपनि हामीलाई थाम्न गाह्रो भइरहेको छ । अस्पतालभित्र कम्तिमा पनि तीन सय बेडको प्रसुति गृह हुनेगरी एउटा छुट्टै भवनको आवश्यकता परेको छ’, उनले भने ।

क्षमताभन्दा बढीलाई प्रसुति सेवा दिनुपर्दा १५ देखि २० जनाको अतिरिक्त लोड लिनुपरेको उनी बताउँछन् । ‘ह्युमन रिसोर्सको क्राइसिस छ, पारामेडिकल रिसोर्स होस् वा डाक्टरहरुको कुरा होस् । बेडको पनि उत्तिकै अभाव छ । नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क दिने कार्यक्रम हो । यहाँ आउने विरामीलाई अन्त जान भन्न पनि मिल्दैन’, उनले भने ।

‘यताउती गर्दा पनि सुत्केरी भएका बढीमा ३० जनासम्मलाई बेडमा राख्न सक्ने ठाउँ छ । अप्रेशनका पनि १२ जनासम्मको लागि मात्रै ठाउँ छ । कहिले १५र२० जना पनि हुन्छन् । पोष्टअपमा नराखेर जनरल वार्डमा पनि राख्नुपर्ने हुन्छ । डेलिभरी केशलाई चाँहि ३० वटा मात्रै छ । हामीकहाँ ४० वटा भइदियो भने १० जना भुइमै बस्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ११ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार