८ बैशाख २०८३, मंगलबार | April 21, 2026

भाले नहुँदा सङ्कटमा घडियाल



चितवन । घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।

घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउँछन । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भने, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उहाँले जनाउनुभयो ।

“भाले नलागेका अन्डा बतासे हुन्छन्, त्यसबाट बच्चा कोरल्न सकिँदैन,” विज्ञ खड्का भन्छन, “भालेकै अभावमा अघिल्लो वर्ष घडियाल प्रजनन केन्द्रमै तीन सय अन्डा बतासे भएर फाल्नु परेको थियो ।” नदी किनारका बालुवामा भएका गोहीका गुँडमै भेटिने अन्डा पनि नकोरली बतासे हुनुमा भाले नलागेकै प्रमुख कारण भएको उनको निष्कर्ष छ ।

विज्ञका अनुसार घडियालमा भाले पोथी छुट्टयाउने आधार भनेकै गोहीको ठुँडोमा हुने घडीजस्तो बनावट हो । त्यो भएको भाले र नभएको पोथी हुन्छ । गोहीको भाले वा पोथी जन्म गोहीको अन्डा रहेको गुँडको तापक्रममा भर पर्छ । “गोहीले बालुवामा गुँड बनाउँछ, त्यो गुँडको तापक्रम ३० देखि ३२ डिग्री भयो भने भाले जन्मने सम्भावना बढी हुन्छ,” घडियाल प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत रहनुभएका खड्का भन्छन, “सामान्य अवस्थामा तापक्रमको सन्तुलन नमिल्दा पनि भालेको जन्म कम भएको हो ।”

पुसदेखि फागुनसम्म घडियालको भाले लाग्ने मौसम हो । पानीभित्र भाले र पोथी पुच्छर जोडेर सहबास गर्छन् । यिनीहरूको प्रजनन अङ्ग पुच्छरसँगै हुन्छ । भाले लागेको पोथी घडियालले वैशाख जेठमा अन्डा पार्छ । अन्डा कोरलेर बच्चा जन्माउन घडियाललाई ६५ देखि ९० दिन लाग्छ । यही अन्डा कोरल्ने बेलाको तापक्रमकै आधारमा भाले पोथी जन्मन्छ ।

यसरी जन्मिएको गोही १५ देखि ५० वर्ष उमेरसम्मका लागि प्रजननयोग्य मानिन्छ । विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । सन् २०२० को गणनाअनुसार चितवनको राप्ती नदीमा ११८ र नारायणी नदीमा १०१ गोही छन् तर अहिले यो सङ्ख्या केही बढेको अनुमान विज्ञहरूको छ । राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल गोही रहेको विज्ञहरूको दाबी छ । तीमध्ये भाले पाँचवटा मात्र भएको बताइन्छ ।

नारायणी र राप्तीका अतिरिक्त कालीगण्डकी, सप्तकोसी, कर्णाली र बबईमा पनि घडियाल छन् । केही समयअघि चितवनमा भालेको अभाव भएपछि बर्दियाबाट ल्याइएको थियो । “प्रजनन केन्द्रमै गोहीका अन्डा बतासे हुन थालेपछि केन्द्रमा रहेको झन्डै ४० वर्षको भाले गोहीको प्रजनन क्षमता नभएको निष्कर्ष निकालेर बर्दियाबाट भाले ल्याइएको थियो,” प्रजनन केन्द्रका तल्कालीन प्रमुख खड्का भन्छन, “त्यो बेला भारतबाट ल्याउने कि भन्ने पनि सोंच थियो तर प्रक्रिया मिलाउन झन्झटिलो हुने भएपछि बर्दियाबाटै ल्याइएको हो । ”

चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ (वि.सं. २०३५) मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर यसको प्रजनन गराउँदै आएको छ । केन्द्रले सन् १९८१ यता हुर्काएकामध्ये नेपालका नदीमा एक हजार ५९७ वटा गोही छाडिइसकेका छन् । यसरी प्रजनन केन्द्रमै पनि गोहीका भाले उत्पादन हुन नसक्नु चिन्ताको विषय हो । जलचरविज्ञ एवं विश्व वन्यजन्तु कोषका परामर्शदाता रामप्रीत यादव प्राकृतिक रूपमा नभए पनि तापक्रम सन्तुलन मिलाएर कृत्रिम रूपमै प्रजनन केन्द्रमा भाले जन्माउन सकिन्छ कि भन्नेतर्फ अनुसन्धान हुनुपर्ने बताउँछन । नभए घडियाल सकिने डर हुन्छ । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ५६ बजे

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ