७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

रेल गफका पाँच वर्ष, डीपीआर नै बनेन



काठमाडौं । काठमाडौं उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।

पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौं उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्ने जस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेकोे मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ । न अहिलेसम्म निर्माणको ढाँचा (मोडल) तय भएको छ, न लगानीको सुनिश्चितता नै । पाँच वर्षसम्म नेतृत्वको भाषणमा मात्र होइन त्यसको निकैअघि नै काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे अध्ययन भएको हो ।

सन् २०१२ मा नै कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो कम्पनीले काठमाडौँको पाँचवटा रुटमा ८७.१८ किलोमिटर मेट्रो रेल निर्माण गरी सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो तर त्यो अध्ययन प्रतिवेदन अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । रेल विभागका महानिर्देशक दीपक भट्टराईले काठमाडौँ उपत्यकाको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि मेट्रो रेल सञ्चालनको विकल्प नरहेको बताउँदै मेट्रो रेल निर्माण सरकारको प्राथमिकतामा रहेको दाबी गरे ।

रेलसम्बन्धी अध्ययनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट गराउनुपर्ने तर केही वर्षदेखि विश्वव्यापी कोभिड-१९ को महामारीका कारण ती काम अगाडि बढ्न नसकेको तर्क उहाँले गर्नुभयो । काठमाडौँको चोभार-सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोक-बूढानीलकण्ठसम्म २२ किमि, कीर्तिपुर-कालीमाटी-नयाँबानेश्वर-एयरपोर्टसम्मको ११.१५ किमि, कोटेश्वर-चावहिल-स्वयम्भू-कोटेश्वरसम्म २८.५३ किमिमा मेट्रो रेल निर्माणका लागि अध्ययन गरिएको थियो । त्यसैगरी स्वयम्भू-डिल्लीबजार-बौद्धसम्म ११.७० किमि र धोबीघाट-सिंहदरबार-नक्साल-गोङ्गबुसम्म १३.८० किमिमा अध्ययन गरिएको थियो । एक दशकअघि नै गरिएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा मेट्रो रेल निर्माण गर्न करिब साढे पाँच खर्ब रुपियाँ लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो ।

बनेन डीपीआर

सम्भाव्यता अध्ययन भएको करिब आठ वर्षपछि महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न वि.सं. २०७६ माघमा रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सलट्यान्ट (जेभी) बीच एक वर्षभित्र प्रतिवेदन बुझाउने गरी सम्झौता भई काम अगाडि बढाइएको थियो जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अन्य चार रुटको डीपीआर निर्माण सुरु हुन सकेको छैन ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले महाराजगञ्जदेखि सातदोबाटोसम्म निर्माण गरिने प्रस्तावित मेट्रो रेलमार्ग ललितपुर खण्डमा एलिभेटेड (जमिनमाथि) निर्माण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ तर रातो मत्स्येन्द्रनाथको रथ यात्रा त्यही रुट भएर पर्ने भएकाले ललितपुर महानगरपालिका र अन्य सङ्घ, संस्थाले सो क्षेत्रमा जमिनमाथिबाट मेट्रो रेल निर्माण नगर्न दिएको सुझाव र दबाबका कारण अध्ययन कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले रेल विभागलाई पत्राचार नै गरेर काम अगाडि नबढाउन आग्रह गरेको जानकारी दिए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले महाराजगञ्जदेखि सातदोबाटोसम्मको मेट्रो रेल निर्माणको डिजाइन ललितपुरको सांस्कृतिक महत्व र भावनाविपरीत रहेको बताउँदै ललितपुर क्षेत्रमा एलिभेटेड (जमिनमाथि) मेट्रो रेल आफूहरूलाई स्वीकार्य हुन नसक्ने भएकाले रेल विभागलाई कार्य अगाडि नबढाउन पत्राचार गरिएको स्पष्ट पारे । उनले भने, “रातो मत्स्येन्द्रनाथको रथ जाने रुटमा भूमिगत मेट्रो रेल निर्माण गर्नुबाहेक अरू कुनै विकल्प हुनै सक्दैन । धार्मिक दृष्टिकोणले असम्भव हुने भएकाले महानगरले रेल विभागलाई सो प्रस्ताव गरेको हो । ”

हरायो मोनो रेल

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा तीन वर्षभित्रमा नै सञ्चालनमा ल्याइसक्ने कार्ययोजनासहित कार्यक्रम अगाडि बढाएको मोनो रेल पनि अहिलेसम्म गफमै सीमित भएको छ । मोनो रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अहिलेसम्म तयार हुन सकेको छैन । काठमाडौँको चक्रपथमा मोनो रेल सञ्चालनका लागि एक वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौँ महानगरपालिका र चाइना रेलवे कम्पनी लिमिटेड (सीसीआरसी, ब्युरो २५) बीच काठमाडौं, २०७५ पुस ४ गते नै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । मोनो रेल सञ्चालनका लागि त्यसको सम्भाव्यता अध्ययनसमेत (फिजिबिलिटी स्टडी) समेत चाइना रेलवे कम्पनी लिमिटेडले नै गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको विस्तार कार्य अगाडि बढ्न नसक्दा मोनो रेलका लागि डीपीआर हुन नसकेको बताए । चक्रपथ विस्तारकै कारणले मोनो रेलको काम अगाडि बढ्न नसकेको बताउँदै उनले मोनो रेल चक्रपथमा नै सञ्चालन गर्ने भएकाले चक्रपथको विस्तार कार्य नभएसम्म डीपीआरको कार्य अगाडि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, “अहिलेको चक्रपथमा डीपीआर निर्माण गर्ने हो भने चत्रपथ विस्तारपछि फेरि अर्को डीपीआर निर्माण गर्नुपर्ने हुन्छ । ” चक्रपथलाई तीन चरणमा विभाजन गरी मोनो रेल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । आजको गोरखापत्र दैनिकमा भउच प्रसाद यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : १० बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली