काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बस्दै छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बैठक बोलाएका हुन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेश गर्न सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भाविता कार्यसूचीमा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ । त्यसअघि बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक थप कार्यसूची तय गर्न सकिने जनाइएको छ ।
अघिल्लो बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए ।
फागुन १ गते सत्तारुढ दलका सांसदले प्रधान्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदका् हस्ताक्षर रहेको छ ।
त्यसमा अझै छलफल हुन सकेको छैन । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विवादका कारण महाअभियोग प्रस्ताव ओझेलमा परेको थियो । एमसीसी सम्झौता फागुन १५ गते अनुमोदन भइसकेको छ ।




















प्रतिक्रिया