तिलोत्तमा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अब निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए । एमाले तिलोत्तमा नगर कमिटीद्वारा बुधबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै पोलिटब्यूरो सदस्य गिरीले यस्तो बताएका हुन् । “एमाले अव चुनामा केन्द्रित भएको छ, अवका तीनै तहका निर्वाचनमा एमालेको विजय निश्चित छ”-उनले भने । एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न डराएर अन्य दलहरुले गठबन्धन गरेर मात्र चुनावमा जाने तयारी गरेको भन्दै जुनसुकै गठबन्धन भएपनि एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिन तयार रहेको बताए ।
उनले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”-गिरीले भने । उनले अहिले सबैतिर एमाले प्रवेशको लहर चलिरहेको र पार्टीप्रतिको आकर्षण बढ्दै गएको भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।
कार्यक्रममा बोल्दै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपनेले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि न्यौपानेले बताए ।
उनले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।
त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तुलसीप्रसाद सापकोटा सहित करिव एकसय जनालाई एमाले नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।
एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी तुलसीप्रसाद सापकोटा, खिमानन्द न्यौपानेगायतले आ-आफ्नो धारणा राखेका थिए ।



















प्रतिक्रिया