रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ ।
महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।
गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ ।
मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउदै आएका छन् ।
गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतीका नाममा जग्गा रजिस्टेशन पारित गराउन श्रीमान नै कार्यालयमा उपस्थित हुने गरेका छन् ।
यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टिबन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजिनामा, दर्ताफारी, दान बकसपत्र, अंशबण्डा, अंश भर्पाईसमेत रहेका छन् ।
पारित लिखतबाट निर्धारित दररेटबमोजिम ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।



















प्रतिक्रिया