११ बैशाख २०८१, मंगलबार | April 23, 2024

श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।

राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले आफ्ना श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । श्रीमती सिर्जना सिंहलाई उनले उम्मेदवार बनाएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी छन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

परिवारवादको प्रभावले टिकट पाउन नसक्दा पाँच वर्षसम्म प्रतिस्पर्धी दल एमालेका मेयर विद्यासुन्दर शाक्यसँग पौठेजोरी खेलेर सम्पदा संरक्षणमा खटेकी उपमेयर हरिप्रभा खड्गीले मेयरको टिकट पाउन सकिनन् । तर, अहिले उनी सिर्जनाको प्रचारक भएर हिँड्न बाध्य छिन् ।

काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएकी सिर्जनाको योग्यता महानगरको विकासमा राजनीतिक रूपमा उनले निर्वाह गरेको भूमिकाभन्दा प्रकाशमानको श्रीमती हुनु नै देखिन्छ । सत्तारूढ पाँच दलीय गठबन्धनको उनी साझा उम्मेदवार हुन् ।

कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।

यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । कांग्रेसले स्थानीय तहसम्बन्धी जारी गरेको घोषणापत्रमा स्थानीय तहका जनप्रतिनिधिले मनोनीत गर्दा आफ्नो परिवारका सदस्यलाई नराख्ने उल्लेख गरेको छ । तैपनि केन्द्रमा राम्रो प्रभाव हुनेले पालिकामा उम्मेदवार बनाउन सफल भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । गत निर्वाचनमा मेयरमा विजयी रेणु सत्तारूढ पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी छन् ।

भरतपुरमा राम्रो काम गरेकै कारण उनी मेयरको उम्मेदवार भएकी होइनन् । बुवा नै पार्टीको अध्यक्ष भएपछि उनकै सहयोगमा टिकट पाएकी हुन् । पाँच दलीय गठबन्धनभित्र महानगरको भागबन्डा हुँदा प्रचण्डले भरतपुर छोरीकै लागि आफ्नो पार्टीको भागमा पारेका थिए । यद्यपि, माओवादी जनयुद्धमा रेणुले समेत बुवासँगै संघर्षमा रहेकी थिइन् ।

उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका छन् । पाँच दलीय गठबन्धनबाट माओवादीको कोटामा सो नगरपालिका पारेर उनले भाइलाई नै टिकट मिलाइदिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ललिपुर महानगरपालिकाको उपमेयरमा साली नाता पर्ने मञ्जली शाक्यलाई उम्मेदवार बनाएका छन् । मेयरमा दाबी गर्दै आएकी मञ्जलीलाई उपमेयरमा टिकट दिइएको हो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले समेत आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएका छन् । विराटनगर महानगरपालिकाको पार्टीअध्यक्ष समेत रहेका अमरेन्द्रले सुरुमा मेयरको दाबी गर्दै आएका थिए । तर, पाँच दलीय गठबन्धनमा मेयर कांग्रेसको भागमा परेपछि उपेन्द्रले छोरा अमरेन्द्रलाई उपमेयरमा टिकट मिलाइदिएका हुन् ।

उपेन्द्रले छोरालाई उपमेयरको उम्मेदवार बनाएपछि गत निर्वाचनमा मेयरको उम्मेदवार रहेका उमेश यादवले पार्टीमा राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । गत निर्वाचनमा तेस्रो स्थान उमेशले ल्याएका थिए । विराटनगरको उपमेयरको उम्मेदवार अमरेन्द्र भएपछि सयौं नेताले पार्टी परित्याग गरिसकेका छन् ।

यसैगरी, जसपाबाट मधेस प्रदेशका मुख्यमन्त्री भएका लालबाबु राउतले श्रीमतीलाई गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकाको उपप्रमुखमा लालबाबुले श्रीमती जलेखा खातुनलाई उम्मेदवार बनाएका हुन् ।

मुख्यमन्त्रीकी श्रीमती उम्मेदवार बन्ने पक्का भएपछि जगरनथपुर गाउँपालिकाबाट गत निर्वाचनमा विजयी भएकी उपप्रमुख बिस्मिल्लाह खातुनले पार्टी नै परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् ।

उता संखुवासभाको खाँदबारी नगरपालिका मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीले जसपाबाट उम्मेदवार भएका छन् । खाँदबारी नगरपालिकाको मेयरमा सीताराम तिम्सिना र उपमेयरमा उनकै श्रीमती मैयाँदेवी चिमरियालाई पार्टीले उम्मेदवार बनाएको हो ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल राजनीतिक दलका शीर्ष नेताहरूले परिवारकै सदस्य वा नाता पर्नेलाई उम्मेदवार बनाउने काम गलत भएको बताउँछन् । राजनीतिमा योग्दान गरेका एउटै परिवारका सदस्य उम्मेदवार हुनु राम्रो भए पनि राजनीतिमा योग्दान नै नभई नातागोतामा परेकै कारण उम्मेदवार बनाउनु गलत भएको उनले बताए ।

पार्टीका शीर्ष नेताले परिवारका सदस्यलाई उम्मेदवार बनाउनुका साथै अधिकांश पालिकामा उपप्रमुखको पदमा स्थानीय नेताकै श्रीमतीहरू उम्मेदवार भएको पत्रकार सञ्जय तिवारीले बताए । श्रीमती, छोराछोरी, भाइबुहारी मात्रै नभई एक नेताले आफ्ना गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको उनले बताए । गर्लफ्रेन्डको छोरीलाई नै उपप्रमुखको उम्मेदवार बनाएपछि जिल्लामा चर्चाको विषय बनेको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ४५ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।