गुल्मी । कालीगण्डकी गाउपालिका ४ गुल्मी पुर्तिघाटमा पितृकार्यमा किरिया बसेका किरिया पुत्रीहरु पनि स्थानीय तह निर्वाचनको मतदानमा सहभागी भएका छन् । बावुको किरिया गरिरहेका किरियापुत्रीहरुले पुर्तिघाटमा स्थित जीवनोद्धार माविको मतदान केन्द्रमा मतदान गरेका हुन ।
मतदान गरेका मध्य एक जना किरियापुत्री स्वयं वडा सदस्यका उम्मेदवार पनि हुन् । किरिया बसेको मध्य काइलो भाई राजेश कुमार श्रेष्ठ कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाटबाट नेकपा एमालेबाट खुल्ला वडा सदस्यमा उम्मेदवार हुन् ।

नेकपा एमाले लुम्बिनी प्रदेशका जेष्ठ नागरिक सदस्य तथा स्थानीय नेता भगवती प्रसाद श्रेष्ठको निधन पछि किरिया बसिरहेका काइला छोरा श्रेष्ठ आफै उम्मेदवार भएपछि मतदानमा सहभागिता जनाएको उनीहरुले बताएका छन् । २०४६ सालदेखि अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी अहिले एमालेबाट खुल्ला वडा सदस्यको उम्मेदवार बनेका हुन ।
गुल्मीको कालिगण्डकी गाँउपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको छ। एमाले–माओवादी उठबन्धनबाट अध्यक्षमा रामजी ढकालको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मन्जु दर्लामी उम्मेदवार छिन् ।
त्यस्तै कालिगण्डकीमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाबीच पनि गठबन्धन छ । सो गठबन्धनमा कांग्रेसबाट अध्यक्ष उम्मेदवार बेद बहादुर थापा छन भने उपाध्यक्षमा जनमोर्चाबाट उपाध्यक्ष तारा थापाले उम्मेदवारी दिएकी छिन । गाउपालिकामा १५२७९ जना मतदाता रहेका छन् ।




















प्रतिक्रिया