सोँचे जस्तो परिणाम नआउँदा किन धाँधली मात्र देख्छन् नेताहरु ?

शरण कर्माचार्य
१ जेष्ठ २०७९, आईतवार
                 

बुटवल । चुनाव अघि एक्लै ६५ प्रतिशत सिट एमालेले जित्ने ‘हुँकार’ छर्दै हिँडेका एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले चुनावको प्रारम्भिक परिणाममा नै चुनाव अघि ‘हुंकार’ फुके जस्तो नतिजा नआउने देखिएपछि मतगणना नसकिँदै ‘बाङ्गा’ कुरा गर्न थालेका छन् ।

एमालेको कुनै बैठकले चुनावको समिक्षा नगर्दै एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल चुनावमा धाँधली भएको, गठबन्धनले निश्पक्ष चुनाव हुन नदिएको जस्ता कुरा निकाल्न थालेका छन् । सामान्यतया लोकतन्त्रमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न पार्टीको बैठक, भेला वा संस्थागत निर्णय गर्नुपर्ने हुन्छ । तर एमाले भित्र राजतन्त्रात्क कालमा राजा बोलेपछि स्वतः कानुन बन्ने गरेकै शैलीमा अध्यक्ष ओलीले पार्टीको तर्फबाट विज्ञप्ति निकाल्ने र महासचिवले सामाजिक संजालमा लेख्ने जस्ता कार्य गरेका छन् ।

त्यसो त कम्युनिष्ट नाम जोडिएका नेपालका पार्टीहरुमा चुनाब हार्ने जस्तो देखिएपछि धाँधली भयो भन्ने गरेको कथा कुनै नयाँ कथा होईन । दोस्रो संबिधानसभा निर्वाचनमा आफुले भने जस्तो परिणाम नआएपछि तत्कालिन माओवादीहरुले बटामा बाक्सा साटियो भन्न सम्म भ्याएका थिए । मतगणना जारी भएकै अवस्थामा मध्यराती देशैभरबाट मतगणना स्थल छाड्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै माओवादीहरु त्यतीबेला मैदान छाडेर भागेका थिए । त्यतीबेला माओवादीले गरेकै शैलीमा अहिले केपी ओलीले एमालेमा संस्थागत निर्णय नगराई धाँधली भएको भन्न थालेका छन् ।

चुनावी सभाहरुमा सत्ता साझेदार दलहरुलाई सयौंपटक परमादेशको गठबन्धनको सरकार भन्न भ्याएका ओलीले आफु अध्यक्ष भएको एमाले पनि अदालतकै परमादेशबाट ब्युँतिएको पार्टी हो भन्ने कुरा बिर्से । एमालेसँग डराएर गठबन्धन बनाएको भनिरहँदा आफैले राप्रपा देखि राप्रपा नेपाल सम्म, परिवारलदल देखि सिके राउट र लोसपासँग गठबन्धन बनाउन याचना गर्दै हिँडेको पनि ओलीले बिर्से । जव त्यत्ती बिधि गरेर गठबन्धन बनाउँदा पनि नतिजा भने जस्तो नआउने देखिएपछि ओलीले ‘हरुवा गोरुको छेरुवा दाउ’ को शैली अपनाउन थालेका छन् ।

टिकट दिनेबेलामा ओलीका विरुद्ध मुख आँ सम्म नगरेका बाहेक अरुलाई टिकटबाट बन्चित गराएका अध्यक्ष ओली र महासचिव शंकरले आफ्नै कार्यकर्ताबाट असन्तुष्टी आउनु अघि दोष सरकारलाई दिएर आफुहरुले उन्मुक्ति पाउने अपेक्षा सहित वक्तव्यबाजी गरेको पनि हुन सक्छन् । काठमाडौबाट अध्यक्ष ओलीले लम्बेतान वक्तव्य जारी गरे लगत्तै दाङबाट महासचिव पोखरेलले सत्ताको चरम दुरुपयोगका वावजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको भन्दै धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु भएको बताएका छन् ।

चुनाव अघि माहोल बनाउनकै लागि हुन पनि सक्छ, आफ्ना समर्थकहरुलाई माओवादी र एकीकृत समाजवादीले एक सिट मात्र ल्याए जोगी बन्ने, सम्पत्ती बाँडेर काँसी जाने जस्ता कुराहरु समेत ओलीले गर्न लगाएका थिए । देशैभर कार्यक्रममा अन्य राजनीतिक शक्तिको अस्तित्व नै नरहनेगरि ‘पाँडे गाली’ गर्दै हिँड्दा पनि, ओलीले सकेको शब्द खोजेर ‘श्राप’ दिएपनि भने जस्तो नतिजा नआएपछि ओली र शंकरको यस्तो धारणा आएको पनि हुन सक्छ ।

ओली शक्तिमा आएदेखि नै उनमा देखिएको एउटा प्रवृत्ति हो आफुलाई चित्त नबुझेको हरेक कुराको ‘सफाया’ गर्ने । चित्त नबुझेकै कारण अदालतले हुन्न हुन्न भन्दा भन्दै दुईपटक संसदको ‘सफाया’ गर्ने तिनै ओली हुन् । सत्तामा पुग्न दुई अध्यक्ष बनाउन तयार हुने तर सत्तामा पुगेपछि दुबै अध्यक्षको अधिकार माथि एकलौटी गरेर दुईतिहाई मत सहितको पार्टी ‘सफाया’ गर्ने पनि ओली नै हुन् । आफ्नै पार्टी भित्र आफु भन्दा सिनियर नेताहरुलाई चित्त नबुझेकै कारण पार्टीबाट ‘सफाया’ गर्ने पनि तीनै ओली हुन् ।

ओलीको पछिल्लो वक्तव्यबारे कांग्रेस महामन्त्री गगन थापाले त तत्काल ‘काउण्टर एटेक्ट’ गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन् – ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

एउटा जिवन्त पार्टीमा चुनाव, प्रणाली र व्यवस्था प्रति असन्तुष्टी आउनु अस्वाभाविक होईन तर त्यस्तो अवस्थामा पार्टीका नेताहरुको, कार्यकर्ताहरुको र समर्थकहरुको समेत धारणा बुझेर मात्र आम धारणा बनाउनु लोकतान्त्रिक बिधि पनि हो । तर एमालेका अध्यक्ष ओली र महासचिव पोखरेलले निर्वाचनका विरुद्ध ‘विषबमन’ गरिरहँदा निर्वाचन प्रति एमालेले कहिले धारणा बनायो ? यो प्रश्नको उत्तर एमालेले दिनै पर्दछ । अन्यथा ओलीको विज्ञप्ति र पोखरेलको स्टाटसबाट एमालेलाई मत दिएका लाखौं मतदाताहरुको अपमान भएको ठहर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*