२३ बैशाख २०८१, आइतबार | May 5, 2024

स्थानीय तह निर्वाचन परिणामः अदलबदल हुँदै दलका हैसियत



काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।

यस्तै, यसअघि दोस्रो दलको हैसियतामा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित निकाल्दै दोस्रो बनेको थियो । यसैगरी, नेकपा माओवादी केन्द्र त्यसबखत १ सय ६ स्थानमा प्रमुख/अध्यक्ष जित निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेसवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।

यस्तै, तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकाल्दा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पाँच स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।

यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पु¥याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । यस्तै, मधेसवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् ।

‘स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन सफल भयो, गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं,’ पौडेलले भने ।

बिहीबार राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६७ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको छ भने ५६ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय १५ भन्दा बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ ।

यस्तै, नेकपा एमालेले १ सय ६८ तहमा प्रमुख/अध्यक्षमा जित हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतभन्दा करिब ९० देखि ९५ स्थानीय तह गुमाउने देखिएको छ ।

यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बिहीबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय ७ वटा स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।

यसैगरी, स्थानीय तहमा चौथो दलको हैसियतमा भने जनता समाजवादी पार्टी नेपालको सम्भावना बढेको छ । राति अबेरसम्मको परिणामअनुसार जसपाले १७ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ भने १८ तहमा अघि छ ।

यस्तै, नेकपा एसले १४ तहमा प्रमुख/अध्यक्ष जितेको छ भने पाँच तहमा अग्रता छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार तहमा जित निकाल्दा आठ तहमा अग्रता लिएको छ भने अन्य २३ साना दलले स्थानीय तहमा सिट सुरक्षित गर्दै गर्दा १० स्थानीय तहमा ती दलको अग्रता छ ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसबाट २ सय ४५ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष निर्वाचित भइसकेका छन् । यस्तै, ५५ तहमा उपप्रमुख/उपाध्यक्ष पदमा कांग्रेस अघि छ ।

यसैगरी, १ सय ८३ स्थानीय तहमा एमालेका उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी ५० तहमा एमालेको अग्रता छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका १ सय १५ जना उपप्रमुख/उपाध्यक्ष विजयी बन्दा १२ स्थानमा अग्रता छ । यसैगरी, नेकपा एसका १८ उपप्रमुख/उपाध्यक्ष निर्वाचित बन्दा पाँच तहमा सो पदमा अग्रता छ । जसपा नेपालले स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष पदमा १६ स्थानमा जित निकालेर १४ तहमा सो पदमा अग्रता लिएको छ ।

यस्तै, लोसपाले उपप्रमुख-उपाध्यक्षमा पाँच तहमा जितेको छ भने पाँच तहमा नै अघि छ । यसैगरी, अन्य दलका १५ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित बन्दा दुई तहमा अग्रता छ ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ३७ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ