८ बैशाख २०८१, शनिबार | April 20, 2024

गहुँ निकासीमा भारतको प्रतिबन्ध : नेपाली उद्योगमा ३ महिनापछि समस्या



विराटनगर । भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले सरकारले जीटूजीमार्फत भारतबाट गहुँ आयात गर्नुपर्ने सुझाव उनीहरूको छ ।

उनीहरूले ३ महीनापछिका लागि अहिलेदेखि नै सरकारले भारत सरकारसँग छलफल गर्नुपर्ने बताएका छन् । भारतबाट गहुँ आयात गर्न नसके नेपालको उत्पादनले धान्न नसक्ने हुँदा उद्योग बन्द गर्नुको विकल्प नरहने बताएका छन् । हालसम्म नेपालमा बीउबाहेक अन्य प्रयोजनमा उपयोग हुने गहुँ भाारतबाटै आयात भइरहेको छ ।

मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले आफूसँग १ महीनालाई पुग्ने गहुँ स्टक रहेको बताए । केही महीना नेपालकै उत्पादनले धाने पनि बाँकी समय भारतीय गहुँकै भरमा उद्योग सञ्चालन गर्ने गरेको उनले बताए ।

भारतले गहुँ निकासीमा लगाएको प्रतिबन्धले यहाँका मैदा मिल र त्यसमा आधारित चाउचाउ, बिस्कुटलगायत उद्योगलाई ठूलो असर पर्ने भएकाले सरकारले भारत सरकारसँग वार्ता गरेर नेपाललाई आवश्यक पर्ने गहुँ आयात गर्नुपर्ने बेगवानीले सुझाए ।

गहुँ आयात गर्न नसकेर भारतबाट आँटा र मैदा ल्याएर उद्योग चलाउँदा २५ देखि ३५ प्रतिशतसम्म महंगो हुन जाने उनले बताए । ‘जीटूजीमार्फत गहुँ नै आयात गरेर उद्योग चलाउँदा आम उपभोक्ताले कम मूल्यमा उत्पादन पाउँछन्,’ उनले भने ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड रुपैयाँ बराबरको झन्डै ३ लाख ३६ हजार मेट्रिक टन गहुँ आयात भएको थियो । विराटनगर नाकाबाट गतवर्ष झन्डै २ अर्ब २० करोड रुपैयाँ बराबरको ६ हजार ८ सय मेट्रिक टन गहुँ आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनका अनुसार भारतले निकासीमा प्रतिबन्ध घोषणा गरेपछि विराटनगर नाकाबाट गहुँ आयात भएको छैन ।

गौमती फूडका सञ्चालक हरिवंश राठी स्थानीय उत्पादनले ३ महीना धाने पनि बाँकी ९ महीना भारतीय गहुँकै भरमा नेपालका मैदा मिल सञ्चालन हुने बताउँछन् । भारत सरकारसँग नेपाल सरकारले कुरा गरेर गहुँ आयात सहज नगराए ठूलो अभाव सृजना हुने उनले बताए । केही वर्षअघि पनि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकी देशलाई कोटा प्रणाली लागू गरेर गहुँ दिएको स्मरण गर्दै राठीले थपे, ‘नेपालको उत्पादनले असारसम्म जेनतेन धान्छ बाँकी ९ महीनाका लागि हाहाकार हुन्छ ।’ सरकारले हाहाकार हुन नदिन भारत सरकारसँग तत्कालै सम्झौता गर्नुपर्ने धारणा उनको छ ।

भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । पहिलो नम्बरमा चीन छ । गहुँ उत्पादनमा तेस्रो रसिया र आठौं नम्बरको युक्रेनबीचको तनावले कृष्णसागरमार्फत गहुँ आपूर्ति बन्द भएको छ । यसपालि मार्चको चर्को गर्मीले भारतमा गहुँ उत्पादन घटेको र रूस–युक्रेन तनावले विश्वभर आपूर्ति व्यवस्था खल्बलिने देखेर भारतले निकासीमा प्रतिबन्ध लगाएको हो । तैपनि, छिमेकी देशहरूका लागि केही खुकुलो नीति लिनेमा नेपालका उद्योगहरू विश्वस्त रहेको राठीले बताए । त्यसो त भारत आफैले पनि खाद्य सुरक्षाका लागि आवश्यक पर्ने मुलुकमा निकासी नरोकिने बताएको छ ।

बाबा फ्लोर मिलका सञ्चालक सुरेश राठीले भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि स्थानीय उत्पादनले केही महीना धान्ने भएकाले तत्काल समस्या नआउने बताए । दीर्घकालमा भने असर गर्ने उनको भनाइ छ । नेपालको बजार त्यति ठूलो नभएकाले खुला सीमाको कारण भन्सार तिरेर अन्य नाकाबाट आउने गहुँले पनि उद्योग सञ्चालन हुने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ५० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा