वैज्ञानिक फोहोर व्यवस्थापनसहित सुन्दर बुटवल हेर्न आतुर बुटवलबासी

शैलजा श्रेष्ठ
४ असार २०७९, शनिबार
                 

बुटवल । नेपाली समाजमा ‘फोहोर व्यवस्थापन’, ’फोहोर व्यवस्थापन तथा प्रशोधन’, ‘ल्याण्डफिल समस्या’ जस्ता विषय अहिलेका मुख्य हेडलाईन बनेका छन । काठमाडौं महानगर प्रमुखको प्रथम नीति ‘फोहोर’लाई लिएर सुरु भएको छ भने धरानका प्रमुखले बीच बाटोमा झाडु लगाएर फहोरलाई नै सम्बोधन गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधि चुनिएसँगै देशभर फोहोर व्यवस्थापन नेपालको जल्दो–बल्दो बिषय बनेको जस्तो देखिएको छ ।

अहिलेको स्थानीय चुनावपछि मोनो–रेल , पानी–जहाज, मेट्रो जस्ता सपनाको आडम्बर भन्दा बाटोका खाल्डा–खुल्डी, चोकमा थुपिएको फोहोर, बर्षाका पहिरो, घर–घर खानेपानी जस्ता जनसरोकारसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत विषयगत समस्याले बढी प्राथमिकता पाएको देखिएको छ । जबकी अघिल्लो स्थानीय चुनावमा पानीजहाज, घरघरमा ग्याँस, मोनोरेल, स्मार्ट सिटी जस्ता काल्पनिक विषयहरुले निकै चर्चा पाएका थियो ।

शैलजा श्रेष्ठ

अब फोहोर व्यवस्थापनकै कुरा गरौ बुटवल उप–महानगरपालिकालाई लिएर । बुटवल नगरपालिकाबाट उप–महानगरपालिका बन्दासम्म पनि फोहोरको समस्या उस्तै छ । यहाँ कुनै पनि खोला–नाला, बगर, खाली जग्गा फोहोररहित छैनन् । मन्दिरको कुना भनौं या हस्पिटलका गल्ली, विद्यालय बाहिर जहाँ हेर्नु हुन्छ फोहोर पाउनुहुन्छ । अझ अहिले चौरहा–गोलपार्कसम्म हेर्नुभयो भने त बन्दै गरेका नालाहरुमा फोहोर प्लस्टिक, पानी–जुसका बोत्तलहरु, चाउचाउ–चिप्सका खोलहरु यत्रतत्र छरिएको पाउनुहुन्छ । थप उदाहरणमा यही इलाका प्रशासनको गेट गएर हेर्नुहोस त – सेवाग्राहीलाई बाटो काट्न समेत हम्मे–हम्मे छ । हामी वुटवल बासी (बटौलियन)हरुलाई सामाजिक सञ्जालमा फोटो राख्न पनि सफा ठाउँ बल्लतल्ल खोजेर, एङ्गल मिलाएर फोटो खिच्नुपर्ने स्थिति छ ।

फेरि हामी बुटवलवासी पनि बिन्दास छौ । हामीलाई फोहोर कै डङुरमाथी राखेको उखुको भट्भटे मेसिनबाट पेलेको चिसो जुस खान मज्जा आउँछ, फोहोरको थुप्रोलाई नदेखे जस्तो गरेर ढल नालाको अगाडि राखेको फुल्किको मजा लिन झनै मज्जा आउँछ । कारबाट पानीको बोत्तल सडकमा फाल्न हामीलाई बानी परिसकेको छ । रिक्साबाट चिप्स–चाउचाउको बोक्रा फाल्ने हाम्रो संस्कृति नै बनेको छ । न त हाम्रा बुवाआमा, शिक्षकले सिकाए यि बोक्राहरु झोलामा राख्न, न त हामीलाई नैतिक कर नै छ आफ्ना बाल–बच्चालाई फोहोर व्यवस्थापनको असल संस्कार सिकाउन । हामीले आफ्ना बालबालिकालाई तिमीले फालेको झोला सड्न ४०० वर्ष लाग्छ, तिमीले वातावरण र आमा पृथ्वीलाई प्रदुषण गरिराखेकी छौ भनेर कहिल्यै भनेनौं ।

फोहोर व्यवस्थापनका लागि गृहकार्य नगरिएको भने होईन । बुटवल उप–महानगरपालिका, सिद्धार्थ, तिलोत्तमा, सैनामैना, देवदह नगरपालिकाहरुको संयुक्त पहलामा एसियाली विकास बैंकको सहयोगमा एएए मोडेलमा १० करोडको प्रोजेक्ट पनि अघि सारिएको थियो २०७५ सालमा । यसमा नविनतम प्रविधिबाट फोहोरलाई मुहानबाट कुहिने–नकुहिनेमा छुट्याएर, कुहिने फोहोर (कुल फोहोरको ६८ प्रतिशत)बाट बायोग्याँस र मल निकालेर बेच्ने तथा प्लास्टिक (सिसाहरु प्रशोधन केन्द्रहरुमा बेचेर थप कमाइसमेत गर्ने प्रोजेक्ट बनाइएको थियो । तर स्थानियहरुको बारम्बार अवरोध तथा नगरपालिकाका अधिकारीहरुले समयमै कार्यनीति अगाडि बढाउन नसक्दा एसियाली विकास बैंकले २०७६ सालमा प्रोजेक्टबाट पछि हट्यो । अहिले आएर फोहोर व्यवस्थापन र प्रशोधनको कुनै ठोस नीति बनेको छैन । अहिले फोहोर देवीनगरस्थित ल्यान्डफिल र खोलाका बगरहरुमै थुपार्ने काम भइरहेको छ ।

अब उप–महानगरपालिका भुगोल र जनसंख्या मात्र होईन, कार्यस्तरमा पनि ठुलो आकार लिनुपर्ने बेला भैसकेको छ । यो फोहोरबाट उत्पन्न हुने प्रदुषण – रोगले घाटा हामीलाई नै हुने हो । काठमाडौं महानगरपालिका तथा अन्य नगरपालिकाहरु सकृय रूपमा व्यवस्थापन नीति र कार्यन्वयनमा लागिराखेको बेला, हाम्रो वुटवल नगरप्रमुखको टोलीले पनि फोहोर व्यवस्थापन नीति कोरेर व्यवहारिक कार्यान्वयनमा अग्रसर हुनैपर्छ । किनकी, बालेनको सार्वजनिक शौचालय नीतिलाई ‘Balen for us, we for Balen’ भन्दै अङ्गालेका बुटवलवासीले नगरप्रमुखले कुनै नयाँ वातावरण–स्वास्थ्यमैत्री नीति ल्याउन सके सहजै अङ्गाल्ने प्रष्ट छ । सबै वुटवलवासीहरु हराभरा परिदृष्य र सुन्दर बुटवल हेर्न आतुर छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*