६ पुस २०८२, आइतबार | December 21, 2025

पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित



काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए ।

(एन्फा) को उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् ।

साधरणसभाबाट निर्वाचित चार मध्ये तीन जना अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङ प्यानलका तथा कुमार कर्मा प्यानलका हुन् ।

दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले पंकज प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए । उपेन्द्र मान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए ।

यसअघि अध्यक्षमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भइसकेका छन् । पंकजले ४५ मत प्राप्त गर्दा कर्माले ३९ मत पाए । स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा बिर बहादुर खड्का निर्वाचित भएका छन् । शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै बिर बहादुर आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए । कुल ८४ मत रहेको छ ।

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।

नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरूले शेर्पामाथि आर्थिक अनियमितता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए ।

शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रीय सदस्यहरूको असहयोग तथा कोभिड १९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरूपको काम गर्न नसकेको बताएका थिए । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनको भनाई थियो ।

२०७२ सालमा तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए ।

नेपाली फुटबलको उर्वर भूमिका रूपमा परिचित झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि बिस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : १९ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या