८ चैत्र २०८२, आइतबार | March 23, 2026

प्रहरीमा सधैं किचलोः सेवावधि घटाउने कि बढाउने



काठमाडौं । सरकारले नेपाल प्रहरीको नियमावली संशोधन गरी ३० वर्षे सेवावधिको प्रावधानलाई हटाउने र महानिरीक्षकको चार वर्षे पदावधिलाई तीन वर्ष कायम गर्ने तयारी गरेको छ । प्रहरी संगठनमा देखिएको किचलोलाई निरूपण गर्दै सरकारले सेवावधि हटाउने र महानिरीक्षको पदावधि तीन वर्ष कायम गर्ने तयारी थालेको हो ।

प्रहरी सेवालाई प्रभावकारी बनाउन नियमावलीमा रहेका अस्थिर प्रावधान कटौती गर्ने क्रममा ३० वर्षको सेवावधि हटाउन र महानिरीक्षकको चार वर्षको पदावधि घटाउन लागिएको छ । गत वैशाख १९ गते गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको नियमावली संशोधन गर्ने जानकारी दिएका थिए। त्यसपछि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको तयारी गरेको हो । ‘प्रहरी नियमावलीमा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता छ । त्यसमा केके प्रावधान रहन्छन् र केके हट्छन भन्ने विषयमा कानुन शाखाले तयारी गर्ने हो,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने । उनका अनुसार आवश्यकताअनुरूप कानुन संशोधन गरिनेछ ।

गृहमन्त्री खाँणले नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई महानिरीक्षक (आइजिपी) लाई शपथ गराउँदै गर्दा दुवै संगठनका नियमावली संशोधन हुने संकेत गरेका थिए। त्यतिबेला उनले प्रहरीमा ३० वर्षे सेवावधि हटाउने र मूल नेतृत्वको पदावधि घटाउने तयारी भएको संकेत गरेका थिए ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्ष सेवावधि र महानिरीक्षकको पदावधि चार वर्ष कायम छ । गृह मन्त्रालय स्रोतका अनुसार सेवावधि बढाएर ३२ वर्ष बनाउने, उमेर हद राख्ने वा पदावधि तीन वर्ष बनाउने विकल्पबारे छलफल चलिरहेको छ । ‘सेवावधि बढे पदावधि तीन वर्षको हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

अहिलेको अवस्थामा ३० वर्ष सेवावधि हटे सिंहले आगामी दुई वर्ष प्रहरी महानिरीक्षक हुने अवसर प्राप्त गर्नेछन् । ‘देशको विकास र राष्ट्रिय हितका लागि पेन्सनको भार सकेसम्म हलुका बनाउनुपर्ने सुझाव आएका छन् । आधुनिक प्रशासनको मूल मर्म पनि यही हो । त्यसकारण सेवावधि बढाउने, उमेर हद कायम गर्ने वा पदावधि घटाउनेजस्ता विषयमा छलफल थालिएको हो । केही समयपछि यो नियमावली संशोधन हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

सुरक्षा विज्ञ एवं पूर्वएआइजी पुष्कर कार्की बिनास्वार्थ, बिनाराजनीतिक पूर्वाग्रह सेवावधि हटाए प्रहरी संगठनलाई फाइदा पुग्ने बताउँछन् । ‘कोही व्यक्तिलाई केन्द्रमा राखेर सेवावधि राख्ने र हटाउने गर्नुहुँदैन । सेवावधि हटाउँदा सरकारले एउटा मापदण्ड ल्याओस्, दीर्घकालीन नीतिहरू तर्जुमा गरोस्,’ कार्कीले भने ।

प्रहरीमा ३० वर्षे सेवावधि रहँदा राज्यलाई आर्थिक निकै भार परेको भन्दै यसलाई विगतमा पनि हटाउन खोजिएको थियो । हाल ३० वर्षे सीमा भएकाले कतिपय ४८ देखि ५३ वर्षमा अवकाश लिने कर्मचारीलाई ५८ वर्षसम्म कार्यरत रहेसरह पेन्सन दिनुपरेपछि राज्यलाई आर्थिक भार परेको हो। नेपाल प्रहरीमा ३० वर्षे सेवावधि हटे राज्यलाई आर्थिक भार कम हुने सुरक्षा विज्ञहरूको भनाइ छ ।

सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६५ ले पनि ३० वर्षे सेवावधि हटाउनुपर्ने सुझाव दिएको थियो । त्यतिबेला वरिष्ठ अधिवक्ता युवराज संग्रौला संयोजक रहेको कार्यदलले दिएको सुझावलाई सरकारले अहिलेसम्म कार्यान्वयन गरेको छैन । प्रशासन पुनःसंरचना आयोगअन्तर्गत नेपाल प्रहरी सुधार सुझाव कार्यदलको सांगठनिक एवं पुनःसंरचनासम्बन्धी प्रतिवेदनले पनि ३० वर्षे सेवावधि हटाउन सुझाव दिएको थियो ।

पूर्वआइजीपी कुवेरसिंह राना नेतृत्वको कार्यदलले दिएको सुझावमा सेवावधि हटाएर पदावधि कायम गर्नुपर्ने उल्लेख छ । सरकारले प्रहरी संगठनको संरचना सुधारसम्बन्धी कुनै पनि कार्यदलको सुझावलाई कार्यान्वयन गरेको छैन । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले सेवावधि हटाउने वा नियमावली संशोधनबारे प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको बताए । ‘सरकारको विषय भएकाले प्रहरी प्रधान कार्यालयलाई जानकारी हुँदैन, यसबारे मलाई थाहा छैन,’ उनले भने । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ७ : २१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय