२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

अनुदान नपाउँदा पहिरोपीडित समस्यामा



म्याग्दी । निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ ।

घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका–६ डम्मराकी पहिरोपीडित खिमकुमारी थापाले बताए । “पहिलो किस्ता पाएपछि ऋण खोजेर घर बनायौँ”, उनले भने, “दोस्रो र तेस्रो किस्ता अनुदान नपाउँदा ऋण तिर्न नसकेर तनाव भएको छ ।”

विसं २०७७ को मनसुनजन्य विपद्बाट घर पूर्णरूपमा क्षति भएका म्याग्दीका २४७ मध्ये २०७ परिवारले पहिलो किस्तावापत स्थानीय तहले उपलब्ध गराउने रु ५० हजारका दरले अनुदान पाइसकेका छन् । सरकारले तोकेको मापदण्डअनुसार घर बनाउँदा रु ६ लाखदेखि रु १० लाख खर्च भएको धवलागिरि–७ की चन्द्रकली विकले बताइन ।

सरकारले हिमाली जिल्लामा मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास पुनःनिर्माण गर्न प्रतिपरिवार रु पाँच लाख, मर्मत गरी पुनः प्रयोग गर्न रु ५० हजार र निजी आवास निर्माण गर्ने जग्गा नभएका व्यक्तिलाई घर बनाउन जग्गा खरिद गर्न थप रु तीन लाख अनुदान दिने कार्यविधि बनाएको छ ।

कार्यविधिअनुसार विपद् प्रभावितलाई पुनर्वास गराउन स्थानीय तहले १० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र सङ्घीय सरकारले ६० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरेपछि लाभग्राहीलाई किस्ताबन्दीमा रकम भुक्तानी दिने व्यवस्था छ । पहिलो किस्ता लैजानेमध्ये पनि अधिकांशले घर बनाइसकेका छन् ।

जाँचपास गर्न प्राविधिक नआएपछि दोस्रो र तेस्रो किस्ता अनुदान उनीहरुले पाउन सकेका छैनन् । मङ्गला गाउँपालिकाका पहिलो किस्ता अनुदान लैजाने १८ परिवारमध्ये १४ र धवलागिरि गाउँपालिकाका ३९ मध्ये ३६ परिवारले दोस्रो किस्ता पाएका छन् । अन्य पालिका र लाभग्राहीले भने अझै दोस्रो किस्ता पाएका छैनन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सीमित प्राविधिक योजनाको अनुगमन र मूल्याङ्कनमा व्यस्त भएकाले पहिरो प्रभावितको निजी आवास अनुगमनमा पठाउन ढिलाइ भएको बताए । नगर र वडाका योजनाको काम सकिएकाले निजी आवासको अनुगमनमा प्राविधिकलाई परिचालन गरिएको उनले बताए ।

विपद्बाट प्रभावित निजी आवास पुनःनिर्माण नियमन गर्ने छुट्टै प्राविधिक छैनन् । स्थानीय तहकै प्राविधिक परिचालन गरिँदै आएको छ । प्राविधिकले लाभग्राहीका घर निर्माणको नियमन गरी फोटो सफ्टवेयरमा अपलोड गरेपछि समितिको खातामा रकम जम्मा हुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले विपद् प्रभावितको निजी आवास पुनःनिर्माणसम्बन्धी प्राविधिकलाई तालिम दिएर परिचालन गरिएकाले अब छिट्टै बाँकी अनुदान वितरण गरिने जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ०५ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि