१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

गठबन्धनमा सिट बाँडफाँट मिलेन



काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ ।

निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको हो ।

बिहीबार दिनभर सत्तारूढ गठबन्धनद्वारा गठित कार्यदल र शीर्षनेता सिट बाँडफाँट रस्साकस्सीमा जुटेका थिए । ११ सदस्यीय कार्यदलले शीर्ष तहमा अपुरो प्रतिवेदन बुझाएपछि समेत शीर्षतहबाट पनि सहमति प्रयास जारी थियो ।

‘सिट टुंगो नलगाई कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ, अब बाँकी विषय शीर्ष तहबाटै समाधान होला,’ कार्यदलका एक सदस्यले राजधानीसँग भने ।

स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलको बैठकमा सिट संख्या विषयमा सबैभन्दा बढी समस्या नेकपा एकीकृत समाजवादी र जसपालाई बुझाउन भएको छ ।

समाजवादी अध्यक्ष माधव नेपालले आफूहरूलाई थोरै सिट दिएर गठबन्धनका कांग्रेस र माओवादीले हेपेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । उनले गत मंगलबार एक कार्यक्रममासमेत सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए ।

यसैगरी, जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका छन् । बिहीबार मात्रै पनि उनले कम सिट पाउने अवस्था भए गठबन्धनमा बस्नुको औचित्य नहुने भन्दै वीरगन्जमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै असन्तुष्टि पोखेका थिए ।

बिहीबारको बैठकपछि कार्यदल सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेस भएर शीर्षमा छलफल मात्रै भएको जानकारी दिए ।

‘कार्यदलबाट शीर्ष नेतृत्वलाई प्रतिवेदन पेस भयो, प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो,’ बैठकपछि कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

कार्कीका अनुसार गठबन्धनबीचमा सहमति प्रयास भने अझै जारी छ । त्यसका लागि शुक्रबार दिउँसो ३ बजे शीर्ष तहको बैठक बस्ने कार्कीले जानकारी दिए ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्रारम्भिक खाका तयार गरिएको थियो । सो खाकामा नेकपा एकीकृत समाजवादी र जसपाको असमति रहँदै आइरहेको छ ।

बिहीबारको असहमतिको अवस्थापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुन बालुवाटारबाट हिँडेपछि जसपा नेता भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । बालुवाटार बैठक छाडेर दिउँसो २ बजे शीतल निवासतिर लागेका उनीहरू अपराह्न ४ बजेपछि मात्रै बैठकमा फर्किएका हुन् ।

राष्ट्रपतिले भने पछिल्लो समय सरकारले फेरि दुवै संसद्बाट पारित गरेर पठाएको नागरिकता विधेयक’ छलफलका लागि जसपा नेताहरूलाई बोलाएको बताइएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ०३ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।