बुटवल । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नपाउने निश्चित जस्तै बनेपछि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले नेकपा एमाले प्रवेश गरेका छन् ।
निर्वाचन नजिकिँदै गएका बेला एकीकृत समाजवादीको रुपन्देही जिल्ला ईन्चार्जबाट हटाउनुका साथै टिकट पनि नपाउने निश्चित भएपछि चापागाई एमालेमा फर्केका हुन् । उनलाई एमाले फर्काउन एमाले उपाध्यक्ष बिष्णु पौडेलले शनिबार सँगै काठमाडों लिएर गएका थिए । पौडेलले अध्यक्ष केपी ओलीको हातबाट खादा र टिका लगाउन लगाएर चापागाईलाई पार्टी प्रवेश गराएका हुन् ।
शुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षको आश्वासन दिईएको तथा निर्वाचनमा टिकट दिने भनिएपनि अस्पतालको अध्यक्ष र टिकट दुबै नपाएपछि चापागाईले एमाले रोजेको एकीकृत समाजवादी स्रोतले दाबी गरेको छ । पत्रकार महासंघको सदस्यता कायम राखेर सक्रिय राजनीतिमा क्रियाशिल चापागाईले एकैदिनमा पत्रकार र राजनीतिकर्मी दुबैरुपमा प्रस्तुत हुँदै आएका थिए ।
एकीकृत समाजवादीले केही समयअघि चापागाईलाई हटाएर राजु गुरुङलाई पार्टीले रुपन्देही इन्चार्ज बनाएको थियो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दलबदल हुने क्रमले तिब्रता पाएको छ ।


















प्रतिक्रिया