काठमाडौं । मनसुनी वायु तथा न्यून चापीय क्षेत्रको प्रभावले आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर परेको छ । जसले गर्दा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य र अन्य केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
आगामी २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले विभागले जनाएको छ । यी प्रदेशमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने विभागको आकलन छ ।
नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।


















प्रतिक्रिया