२८ पुस २०८२, सोमबार | January 12, 2026

तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता



दमौली । डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।

सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड-१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो,” उनले भने, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”

डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । “लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरु जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,” उनले भने, “प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।”

‘सबै जागौ, सबै लागौ : वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

“डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ,” उनले भने, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोषाक अनिवार्य गरिएको छ ।”

यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ ।

डेङ्गुबाट ८८ सङ्क्रमित

तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो ।

दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात् घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा. राजु रानाले जानकारी दिए ।

बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात् घर फर्किएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए । उपचाररत २७ जना नै उपचारपश्चात् घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ । स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए । “स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ,” अधिकारीले भने ।

लामखुट्टेको टोकाईबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाईबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन् । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरि दिउँसो मात्र टोक्ने गर्दछ र वर्षादको मौसम शुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा. रानाले बताए ।

डेङ्गुबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाईबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को