१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही-३ मा खाँण र बोहोराको रोचक भिडन्त, पुराना एमालेहरुले देलान् त पूर्व पञ्चलाई मत ?



बुटवल । २०७४ सालमा बाम गठबन्धन बलियो देखिएकै कारण समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने बामपन्थीहरुसँगै गठबन्धन गरेर रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् ।

पञ्चायतकालदेखि जस्का विरुद्ध संघर्ष गरे, जस्का विरुद्ध आन्दोलित भए र जस्का विरुद्ध संगठित भए तीनै राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा खाँणका प्रतिस्पर्धा बनेका छन् । खाँणलाई जनआन्दोलन देखि गणतान्त्रिक आन्दोलन सम्मका सहयात्रीहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ भने सँगै लोकतन्त्र र गणतन्त्रका लागि लडेको एमाले प्रतिगमनका पक्षधर बोहरालाई बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जसपाले रुपन्देही ३ को हकमा एमाले सहितको गठबन्धनमा सहभागी छै्रन ।

पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका र पंचायतकाल देखि गुढडागर्दी, भ्रष्टाचार, दमन र अत्याचारको पर्याय बनेका बोहोरा एमालेलाई बोकेर चुनावमा उत्रिएका छन् । बोहोराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहराले रुपन्देही–१ बाट चुनाव लड्ने चाहाना राखेपनि एमालेले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई पाखा लगाउन र बालकृष्ण खाँणसंग भिडाउन क्षेत्र नम्बर ३ मा उठन बाध्य पारेको एमाले स्रोतले उल्लेख गरेको छ । एमाले सचिव छविलाल विश्वकर्माले २०७४ मा जितेको आफ्नो क्षेत्र नछाडेपछि पनिज एमालेले बोहरालाई गृहमन्त्री खाँणसँग प्रतिस्पर्धा गर्न पठाएको हो । त्यसो त लोकतान्त्रिक गठबन्धनको नारा अगाडि सारेको कांग्रेसले २०७४ सालमा तीनै पूर्व पञ्च बोहोरालाई सघाएको थियो ।

बोहरा २०६४ को चुनावमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० मा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका बोहरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ मा नेकपा एमालेका घनश्याम भूसालसंग पराजित भएका थिए । २०७४ मा बोहोरालाई हराउन नफुटेको एमाले, माओवादी केन्द्र सहितको बाम गठबन्धन एकै ठाँउमा थिए भने काँग्रेसको साथ बोहोरालाई थियो ।

वाम गठबन्धनका उम्मेदवार भूसालले ३२ हजार ८६६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसको समर्थन पाएका बोहराले २७ हजार ४२२ मत पाएका थिए । त्यति बेला राप्रपा विभाजित थियो र वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।

अघिल्लो पटक राप्रपा विभाजित रहेको र अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगत भन्दा पार्टीको मत बढेको राप्रपाले दाबी गरेपनि अघिल्लो पटक कांग्रेसकै मतका आधारमा बोहोराको मत देखिएपनि कांग्रेसले आफ्नै उम्मेदवार उठाउँदा अवस्था फरक हुने कांग्रेसको दाबी छ । एमालेसँगको गठबन्धन भएपनि जीवन पर्यन्त पंचायत र बोहोराका विरुद्ध संघर्ष गरेका एमालेका पुराना कार्यकर्ताहरुले बोहोरालाई मत दिन नसक्ने खाँण पक्षको आँकलन छ ।

रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यो क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत अनुसार राप्रपा यहां पनि कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हो ।

‘यो क्षेत्रमा दीपक बोहराले धेरै अघिदेखि योगदान गर्नुभएको छ, त्यो यहाँका पुराना मतदातालाई थाहा छ’, राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने, ‘बोहराको व्यक्तिगत प्रभावले स्थानीय तहको मत भन्दा धेरै अन्तरले हामी जित्छौं ।’

एमालेका पुराना नेता कार्यकर्ताका हातबाट पूर्व पञ्च बोहोराका पक्षमा मत नजाने आँकलन गरिउका बेला एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले भने सत्ता गठबन्धनलाई पराजित गर्ने पार्टीको रणनीति रहेकाले राप्रपासंगको तालमेललाई कार्यकर्ताले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने दावी गर्छन् ।

नेपाली कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङ भने स्थानीय तहको मतले प्रतिनिधि सभा चुनावलाई प्रभाव नपार्ने बताउँछन् । गृहमन्त्रीको राजनीतिक उचाइ र यो क्षेत्रको विकासमा गरेका योगदानले गर्दा सजिलै चुनाव जित्ने गुरुङको दाबी छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाटै कांग्रेस पृष्ठभूमिका सामाजिक अभियन्ता प्रख्यात बन्जाडे हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका छन् । भैरहवा र आसपासका व्यवसायिक तथा सामाजिक संघसंस्थामा राम्रो प्रभाव जमाएका बन्जाडेले समेत कांग्रेसकै मत काट्ने र बोहोरालाई फाईदा हुने बोहोरा पक्षको आँकलन छ ।

रुपन्देही ३ मा आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हुती शोहोरा र खाँणमा नभएपछि दुबै उम्मेदवार सहयोगी पार्टीकै भरमा आश्रित हुन बाध्य छन् । चुनाव जित्न गठबन्धनमा रहेका अन्य दलको भर पर्नुपर्ने कारणले पनि बोहरा र खाँणको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ५२ बजे

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान