नेपालगन्ज । जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रनं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ । जसपाले तिहारको पहिलो दिन पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकै साथ घरदैलो अभियान सुरु गरेको हो ।डुडुवा गाउँपालिका वडानं ६ हिरमिनियाबाट जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्रनं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले घरदैलो अभियानको सुरुवात गरेका हुन्।
घरदैलो कार्यक्रमको उदघाटन गर्दै उनले चुनावी अभियानमा खटिएका आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई आपसी भाइचारा, सद्भाव र विकासका लागि जनता समाजवादीलाई फेरि एकपटक जिताउनका लागि निरन्तर लागि पर्न आह्वान गरे ।
बाँके २ मा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन् ।
घरदैलो अभियानको सुरुवात गर्दै उम्मेदवार राईले मतदाताले अब फेरि राजा ल्याउन नभएर आफ्ना लागि ‘चौकिदार’ चुन्ने बेला आएको बताए । ‘धोती, टोपी र शीरमा फेटा बाँधेकाहरूको अधिकारका लागि हाम्रा अग्रजहरूले, सहीदहरूले आफ्नो रगत बगाएर ल्याएको यो शासन व्यवस्थाहो’ उनले भने ‘यो कसैको निगाहमा आएको होइन । विकास त्यसै आएको होइन ।राज्य संरचनामा हाम्रा उपस्थिति त्यसै बाध्यकारी भएको पनि होइन ।’
उनले प्राप्त उपलब्धीलाई बचाउनका लागि फेरि एकपटक जसपाका प्रतिनिधिहरू संसदमा पुग्न जरुरी रहेको पनि बताए । उम्मेदवार राईले अहिले प्रतिपक्षीहरूले जसपा र त्यसका उम्मेदवारहरू विरूद्ध झुटा कहानी र भ्रमहरू फैलाउन उद्देत रहेको भन्दै त्यस प्रति सचेत रहन पनि मतदाताहरुलाई आग्रह गरे।
उम्मेदवार राईले अहिले पनि विपक्षीहरूले धार्मिक र सामाजिक सद्भाव भड्काउनका लागि अनेक षड्यन्त्रहरू रचिरहेको र त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिनका लागि हरेक कार्यकर्तालाई सचेत रहन आग्रह गरे। ‘मैले सुरूदेखि नै भनिरहेको छु धर्म, जात अनि सम्प्रदाय होइन विकासका लागि राजनीति गरौं।’उनले भने ।



















प्रतिक्रिया