२१ माघ २०८२, बुधबार | February 5, 2026

म्याग्दीमा गठबन्धन र एमालेको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?


२२ कार्तिक २०७९, मंगलबार  

2.1k
Shares

बेनी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जितेका थिए । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।

कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुई पटक पराजीत गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्बुजा २०७४ सालमा नेकपा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार तीन सय मतले पराजित भएका थिए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, माओवादीले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेले सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । गत स्थानीय तह चुनावको नतिजा, बलियो सङ्गठन, प्रभावशाली उम्मेदवारका कारण चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल बताउँछन् । प्रदेशसभाको क्षेत्र (१) बाट कटुवाल उम्मेदवार छन् ।

जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गरिसकेका छन् ।

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रीय छन् । २०७२ अघि एक कार्यकाल कांग्रेसको जिल्ला उपसभापति गर्बुजा २०६४ को चुनावमा कांग्रेसको समानुपातिक उम्मेदवार थिए । दुईवटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपालि गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।

गर्बुजाले भने, “दुईपटक चुनाव हारे पनि म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपालि म जीतका लागि प्रतिस्पर्धामा आएको हो ।” गर्बुजा बेलायती सेनामा हुँदा बास्केटबल, भलिबल र सुटिङ खेलाडी थिए ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक कांग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले तीक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँदै गठबन्धनको मतले चुनाव जित्ने दाबी गर्छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । उम्मेदवारहरु ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उम्मेदवारहरुको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ०४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता