१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका-२०७९’मा यो व्यवस्था लागू गरेको हो । यसबाट लामो समय सेवाअवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारी बढी लभान्वित हुने सशस्त्र मुख्यालयको विश्वास छ ।

यसअघि, ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका-२०७१’अनुसार न्यूनत्तम पाँच वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए ।

पहिले सेवामा प्रवेश गरेकाले ‘यसप्रकारका अवसर पाउनुपर्छ’ भन्ने उद्देश्य र देशभरका एकाइमा कार्यरत कर्मचारीबाट प्राप्त सुझावअनुसार निर्देशिका परिमार्जन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी कर्मचारीले हालै लागू ‘बडी मास इन्डेक्स’ (बीएमआई)का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । जसअन्तर्गत उचाइअनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यो अवसरबाट वञ्चित हुनुपर्नेछ ।

समान मितिमा भर्ना तथा पदोन्नत्ति भएका कर्मचारीका हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतिको ज्येष्ठता क्रमअनुसार छनोट प्रावधान राखिएको छ ।

मापदण्ड पूरा भई विभागीय कारबाही भएको भए कारबाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी छनोट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नति मिति भएका कर्मचारीसँग छनोट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिनेछैन ।

आचरणविपरीत क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशिकामा तोकिएको अवधिसम्म मिसन छनोटबाट वञ्चित गरिने भएको छ । जसअनुसार एकपटक मात्र विभागीय सजाय पाएकाको हकमा सजाय फुकुवा भएको मितिले एक वर्ष पूरा भएको हुनुपर्ने र दुई वा सोभन्दा बढी सजाय पाएका कर्मचारीको हकमा सात वर्ष पूरा भएको हुनुपर्नेछ ।

साथै, पदको ज्येष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने कर्मचारीलाई तीन वर्षसम्म सो अवसरबाट वञ्चित गरिने भएको छ । यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिसन जान खोज्ने प्रवृत्ति देखिएको थियो ।

निर्देशिकाअनुसार लगातार वा पटकपटक गरी ‘१२ महिनाभन्दा बढी समय ड्युटी गर्न नसक्ने’ भनी नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिसन छनोट प्रक्रियामा त्यस्ता कर्मचारीलाई सहभागी नगराइने भएको छ । तर, सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्युटीमा अनुपस्थित रहेको भए ‘अनुपस्थित रहेको अवधिबराबर पूर्ण रूपमा ड्युटी गरेको’ भनी अभिलेखबाट देखिएमा तोकिएको मापदण्डका आधारमा मिसन छनोट प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

त्यस्तै, एफपीयू प्री-एफप्याट परीक्षामा सिनियर अधिकृतलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तीर्णमध्येबाट दर्जागतको ज्येष्ठताका आधारमा छनोट गरिनेछ । परीक्षामा अनुत्तीर्ण भई तोकिएको संख्या अपुग भएमा ज्येष्ठता क्रमका आधारमा निकटतम जुनियरलाई परीक्षामा पुनः सहभागी गराई परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

यसैगरी, सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्या शतप्रतिशत मानी सो संख्याको ८० प्रतिशत खुला भर्नाको ज्येष्ठता क्रमबाट र २० प्रतिशत भर्ना मितिको ज्येष्ठता क्रमअनुसार छनोट गरिनेछ ।

त्यस्तै, मिसन छनोट भएका अधिकृतले विशेष कारणबाहेक (प्रसूति, क्रिया, विपद्) मिसनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेदवारलाई छनोट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने र यसरी रद्द भएका कर्मचारी सो वर्ष सञ्चालन हुने परीक्षासमेत सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।

मिसन छनोटपश्चात सञ्चालन हुने तैनाथीपूर्व तालिममा सैद्धान्तिक एवं व्यावहारिक रूपमा लिइने स्तरपरीक्षामा अनुत्तीर्ण भएमा तथा सो तालिममा १५ दिनभन्दा बढी अनुपस्थित भएमा र आचरणविपरीतको कार्य गर्ने कर्मचारीको मिसन सहभागिता रद्द गरिनेसमेत निर्देशिकामा समेटिएको छ ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ १९ डिसेम्बर २००३ मा पहिलोपटक अफ्रिकी मुलुक लाइबेरियामा सशस्त्र प्रहरी बल नेपालको फम्र्डपुलिस युनिट (एफपीयू) खटिएको थियो । अन्तर्राष्ट्रियस्तरमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यावसायिकताले गर्दा पछिल्लोपटक अफ्रिकी मुलुक साउथ सुडानमा १७ जनवरी २०१४ देखि यस्तै युनिट खटिइरहेको छ । अहिले सोमिसनमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा १ सय ८० जनाको टोली कार्यरत छ ।

हालसम्म सशस्त्र प्रहरी बल नेपालबाट ६१ टोली गरी कुल ७ हजार ७ सय २४ जनाले शान्ति स्थापनार्थ मिसनमा सेवा प्रदान गरिसकेका छन् भने संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिसनका रूपमा तैनाथीका लागि तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल सूचना शाखा प्रमुख एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ५८ बजे

आजको मौसम : देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले