काठमाडौं । सोमबार संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु हुँदैछ । नवगठित प्रतिनिधिसभा र अविच्छिन्न संस्थाको रुपमा रहेको राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो ।
प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची तय गरिएको छ । निर्वाचनको मत परिणाम घोषणा भएको तीस दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने व्यवस्था अनुसार राष्ट्रपतिले गत पुस १२ गते नै पुस २५ गतेका लागि अधिवेशन आह्वान गरेकी थिइन् ।
त्यस्तै, संघीय संसद् सचिवालयले सांसदहरुलाई विद्युतीय हाजिरी गराउने व्यवस्था सुरु गर्न लागेको छ । सोमबारबाट परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रचलन अनुसार संसद्को अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । त्यसै अनुसार, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनका जानकारी पनि सांसदहरुलाई दिइनेछ । शोकप्रस्ताव पनि कार्यसूचीमा छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे पनि जानकारी दिइनेछ ।
बैठकको सञ्चालन ज्येष्ठ सदस्यका रुपमा राप्रपा सांसद पशुपति शमशेर जबराले गर्नेछन् । प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभा नियमावली-२०७५ अनुसार नै सञ्चालन हुने बताइएको छ ।


















प्रतिक्रिया