२३ असार २०८३, मंगलबार | July 7, 2026

पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसमा ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिने



काठमाडौं । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा यही माघ २८ गते शनिबार बिहानदेखि बेलुकीसम्म पाँचपटक निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गर्न लागिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते किन स्वदेश फर्के र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरूपमा देखाइएको छ । नेपाल प्रवेश गर्नेबित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउण्डेशनका सदस्यसचिव कोइरालाले बताए ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्केकाले नै बिपी राजनेता बन्न सफल भएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । मुलुकको सार्वभौमिकता जोगाउन बिपीबाट उठाइएको जोखिमलाई पनि वृत्तचित्रको विषय बनाइएको छ । आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ । ऐतिहासिक पात्रकै माध्यमबाट त्यसबेलाका घटना दर्शकले हेर्न सक्ने भएका छन् । गत वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर निर्माण गरिएको वृत्तचित्र यसअघि राजधानी काठमाडौँमा दुईपटक र गण्डकी प्रदेशको राजधानी पोखरामा एकपटक देखाइसकिएको छ ।

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ । ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको उनले सुनाए ।

अन्वेषण न्यूज डटकमका प्रधानसम्पादक जगत नेपालका अनुसार विकसित देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पनि नेपालमा प्राथमिकतामा पर्न सकेको छैन । राज्यले ध्यान नदिएकै कारण कयौँ यस्ता तथ्य एवं सामग्री लोप भइसकेको छ । लोप नभएका तथ्य एवं सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको प्रधानसम्पादक नेपाल बताए । फाउण्डेशनले अन्वेषण न्यूज डटकमसँगको सहकार्यमा यो वृत्तचित्र निर्माण गरेको हो ।

इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुक सङ्घसंस्थासँग आह्वान गरेको छ ।

‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका फाउण्डेशनका अध्यक्ष डा शशाङ्क कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचित्र निर्माणको तयारी गरिएकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउँछन् ।

‘राजद्रोही राजनेता’ हेरेपछि पूर्वमुख्यसचिव लीलामणि पौड्यालले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्त्वपूर्ण काम गर्ने बताएका थिए । ‘राजद्रोही राजनेता’लाई देशका प्रमुख सहरमा देखाउने फाउण्डेशनको लक्ष्य छ ।

यस वर्ष विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवस पारेर प्रदर्शन गर्न लागिएको हो । संविधान जारी भएकै वर्ष माघ २५ गते राति कोइरालाको निधन भएको थियो ।

सादगी नेताको परिचय बनाएका पूर्वप्रधानमन्त्री सुशील कोइराला ७० वर्षअघि बिपी कोइरालाले अघि सारेका संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल भएका थिए । कोइरालाको प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले गरेका खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सार्वजनिक गर्न सुरु भएको थियो । कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाली कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्थाले मनाउने जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : १६ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको