१८ श्रावण २०८३, सोमबार | August 4, 2026

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग



नवलपुर । बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ ।

हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ । गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ ।

गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन सङ्घीय सरकार समक्ष सिफारिस गरी पठाउने प्रस्ताव आठौँ नगर कार्यपालिकाले निर्णय गरेको थियो । सो प्रस्ताव नगर सभाले अनुमोदन गरेपछि गैँडाकोटलाई चुरेबाट हटाउन सिफारिस गरिएको हो ।

चुरे क्षेत्र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति मातहतमा रहेको छ । ‘करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो’ भनेर परिभाषित गरिएको छ । यो नेपालको पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको छ ।

तराईको कूल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्ने राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिले जनाएको छ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ ।

गैँडाकोटलाई चुरेमा राखिँदा नगरपालिकाले विकास निर्माणमा झन्झटिलो भएको, सामुदायिक वनले काठ कटान गर्न नपाएको, नगरकै विकासका लागि चुरे क्षेत्रबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने प्रक्रियामा झन्झट भएको बताउँदै आएको छ ।

विकास निर्माण र प्रक्रियामा झन्झटिलो भएका कारण गैँडाकोटलाई महाभारत क्षेत्रमा कायम गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरिएको गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिए । उपभोक्ता समितिलाई असहज भएकोले पनि महाभारत क्षेत्रमा राख्न सङ्घीय सरकारलाई सिफारिस गर्न लागिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।

स्थानीय सरकारको अधिनमा पालिकास्तरमा विकास निर्माणकार्य प्रभावकारी रुपमा परिचालन गर्न सकियोस् भन्ने हेतुले नगर सभाले महाभारत पर्वतमा पार्न पारित समेत गरेको उनले बताए ।

चुरेबाट हटाएर महाभारत पर्वत शृङ्खलामा पार्न अन्तरपालिका समन्वयका आधारमा निर्णय गरिएको उनको भनाइ छ । यद्यपि देवुचुली र कावासोती नगरपालिकाले भने सो निर्णय गरिसकेका छैनन् । देवुचुलीका प्रमुख प्रशासकीय अधिकृत मोहाप्रसाद मारासिनीले देवचुलीले सोबारे निर्णय गरिनसकेको बताए । कावासोतीका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले अहिले नै सोबारे निर्णय नगरेको बताए ।

यस क्षेत्रमा सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको समितिले बताएको छ । औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव बस्ती विस्तार हुँदै जाँदा आवादी र खेतीका लागि वन जङ्गल फाँड्ने क्रम बढेको भन्दै त्यसलाई रोक्न सरकारले चुरे संरक्षणलाई अभियानका रुपमा सञ्चालन गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरुआत गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : १५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क