१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बटौली बुटवल बनेको ६४ वर्ष पुरा, भव्यरुपमा स्थापना दिवस मनाइँदै



बुटवल । बुटवल उपमहानगरपालिकाले ६४ औं स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएको दिनलाई स्थापना दिवस मान्दै बुटवलमा हरेक वर्ष फागुन ३ गते स्थापना दिवस मनाइँदै आएको छ ।

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरले बुधबार (भोलि) मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानीय राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

बुधबार मूल कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

यस्तै, मूल समारोहकै अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने र सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भएका थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भए ।

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा स¥यो ।

खस्यौलीमा पूर्वाधारहरु थपिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ । ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । ‘यो ५ वर्षमा बुटवलले आफुलाई देशकै अगुवा शहरका रुपमा स्थापित गर्नेछ, उनले भने, –बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।’

देशका ६ वटा प्रदेशमा अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानी तोक्दा लुम्बिनी प्रदेशमा भने बुटवलबाट स्थायी राजधानी सारेर दाङ लगिएको छ । भौतिक विकासमा सामान्य असर परेपनि औद्योगिक र व्यवसायीक केन्द्रका रुपमा बुटवलको अस्तित्व नमेटिने बुटवलका अगुवाहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम