१ बैशाख २०८३, मंगलबार | April 14, 2026

घूस खान पाइने कार्यालयमा जान ‘सोर्सफोर्स’



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूमध्ये अधिकांश कर्मचारीले अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’ लगाउने गरेका पाइएको छ ।

ती कर्मचारीले आर्थिक तथा अन्य प्रलोभनमा पारेर उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै सोर्सफोर्स लगाउने गरेका मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन्, जहा घूस नदिई जनताका कुनै काम हुँदैन । ती कार्यालयमा जान कर्मचारीहरू मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकारीहरूको अनुभव छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्ट्रार कार्यालयहरू, भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरू र केही जिल्ला प्रशासन कार्यालय छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्यै रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हातपर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुनेक्रममा कमी आएको छैन । त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्ममा नै सेटिङ मिलाउनसमेत खप्पिस रहेका अधिकारीहरूको दाबी छ । यस कार्यमा कर्मचारी र कर्मचारीका केही नेतासमेत संलग्न हुने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार आसेपासे तथा केही उच्चपदस्थ प्रशासकहरूको नाम भजाएर बिचौलिया बनेकाहरू सरुवाको सूची लिएर सिंहदरबार धाउने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा गरेको अनौपचारिक अध्ययनले घुस्याहा र आकर्षक कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ ।

यातायात कार्यालयहरू पनि निकै आकर्षक कार्यालयका रूपमा रहे पनि हाल ती कार्यालय प्रदेशमातहत रहेकाले यातायात कार्यालयमा सरुवा माग्नेहरूको भीड हिजोआज प्रदेशतर्फ सरेको छ ।

आकर्षक र घुस्याहा मानिएका सरकारी कार्यालयमा मनग्यै रूपमा आर्थिक कमाइ हुने गरेको छ । कतिपय कर्मचारीले त दैनिक रूपमै १० देखि ३० हजारसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले देखाएको छ । त्यहाँ कार्यरत कर्मचारीको उठबस शक्तिकेन्द्रहरूसँग समेत हुने गरेको छ । उनीहरूमा पैसाको प्रयोग गरी उच्चतहमा पहुँच राख्नसक्ने खुबी विकास हुने गरेको सतर्कता केन्द्रका अधिकारीहरूको भनाइ छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : ४१ बजे

आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी