३ श्रावण २०८३, आइतबार | July 20, 2026

‘राष्ट्रपति पदमा लफडाले मुलुककै बेइज्जत’



काठमाडौं । आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ ।

प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । ‘सेरेमोनियल राष्ट्रपति चयन गर्न नेपालमा जस्तो लफडा र गलत कृत्य विश्वका अन्य कुनै मुलुकमा भएको मैले देखेको छैन,’ राजनीतिक विश्लेषक एवं प्राध्यापक डा. लोकराज बरालले राजधानीसँग भने । उनले राष्ट्रपतिका लागि नेताहरूको अनावश्यक दौडधूपलाई अस्वाभाविक लफडाका रूपमा चित्रण गरेका छन् ।

‘राष्ट्रपति पद’लाई विकृत बनाउँदै नेताहरू

केही समयअघि मात्रै छिमेकी देश भारतमा द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । राजनीतिक विश्लेषक बरालले भारतमा मुर्मु राष्ट्रपति हुँदा कुनै केही चर्चा नभई एक्कासि भएपछि मात्रै विश्वले थाहा पाएको स्मरण गर्दै भने, ‘तर, हामीकहाँ महिनौंदेखि राष्ट्रपति को हुने भन्नेमा लफडा चलेको चलै छ, यस्तो विचित्र देश विश्वमा सायदै होला †’ राजनीतिक विश्लेषक बरालले प्रमुख राजनीतिक दल र तिनका नेताहरूले राष्ट्रपतिका लागि गरेको कृत्यले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै अविश्वास पैदा हुनसक्ने चिन्ता व्यक्त गरे ।

हुन पनि राष्ट्रपतिका लागि मनोनय हुने समय नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादीका नेताहरूले राष्ट्रपतिका लागि गरेको दौडधूपले राष्ट्रपति पदको सिंगो गरिमा नै घटाएको देखिन्छ । दल र तिनका नेताहरूको ‘भाले भिडन्त’ तथा यस्तै कृत्य जारी रहने र यसैबीच राष्ट्रपति चयन भएमा त्यस्तो राष्ट्रपतिको आधा कद घट्ने विश्लेषकहरूको ठम्याइ छ ।

नेपालको संविधानको धारा ६१ को उपधारा २ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा राखेको छ । साथै, संविधानले नै राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको संरक्षण गर्ने महत्वपूर्ण दायित्व सुम्पेको छ । यति महत्वपूर्ण दायित्वमा रहने राष्ट्रपतिको छनोट प्रक्रियालाई भने प्रमुख दल र तिनका नेताहरूले निकै हलुका बनाइदिएका छन् । राजनीतिक विश्लेषक डा. बरालले नियुक्त हुनुअघि नै दलका नेताहरूले दिनदिनै राष्ट्रपतिमा नयाँ व्यक्तिहरूलाई अघि सारेर मुलुकको बेइज्जत गरेको बताए ।

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेलले पनि नेताहरूले राष्ट्रपतिको निर्वाचनअघि रमिता मच्चाएको बताए । उनले राष्ट्रपतिको मनोनयनको दिनभन्दा अघिसम्म धेरै नेता राष्ट्रपति भइसक्ने भन्दै व्यंग्यसमेत गरेका छन् । ‘१३ फागुन आउन्जेलसम्ममा सबै नेता राष्ट्रपति भइसक्ने भए, पोखरेलले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिलाहा बाँट’ जो चलेको छ, यो पदको हाम्रो नेपालमा !’

नेताहरूबीच दिनहुँजसो राष्ट्रपति को हुने भन्नेमा छलफल भइरहँदा हालसम्म राष्ट्रपतिका सम्भावित उम्मेदवारहरू दर्जनबढी पुगिसकेका छन् । अझ पहिला प्रधानमन्त्री भएर कार्यकारी पदमा बसिसकेका व्यक्तिहरू नै राष्ट्रपतिको लिगलिगे दौडमा मरिहत्ते गरेर लाग्नु अर्को विडम्बना भएको विश्लेषकको भनाइ छ ।

अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बिहानदेखि रातिसम्मकै दैनिकी कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा छलफल गर्नमै बित्ने गरेको छ । यस्तै, मधेसवादी दल र एकीकृत समाजवादीका नेताहरू पनि त्यस्तै खेल र दौडधूपमा सक्रिय छन् ।

तर पनि नेताहरूले कुनै निकास निकाल्न सकेका छैनन् । मात्रै हल्लाखल्ला हुने गरेको छ । हल्लैहल्लाका बीच २५ फागुनमा राष्ट्रपति छानिनेछन् । उनीहरूले राष्ट्रपति हुने व्यक्ति देश र जनताप्रति अत्यन्तै इमान्दार तथा देशका लागि ठूलो त्याग गरेको भन्दा पनि आफ्नै स्वार्थअनुकूलको र ‘एसम्यान चरित्र’ बोकेको व्यक्तिलाई राष्ट्रपति बनाउनेगरी आआफ्नो लबिइङलाई तीव्र पारिरहेका देखिन्छ ।

राजनीतिक विश्लेषक डा. बरालले प्रमुख दलका नेताहरूले राष्ट्रपति पदलाई आफ्नो स्वार्थनुसार प्रयोग गर्न खोजेकाले ठूलो समस्या आएको र त्यसले थप समस्या सिर्जना हुनसक्ने बताए । ‘यसैका कारण पूर्वराजा र राजावादीहरूले सक्रियता बढाइरहेका छन्,’ बरालले राजधानीसँग भने, ‘यसको कारण मुख्य दल र तिनका नेताहरू नै हुन् ।’ आजको राजधानी दैनिकमा सागर पण्डितले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : २१ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग