२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी


१४ फाल्गुन २०७९, आइतबार  

286
Shares

लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो ।

यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष रु नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए ।

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट रु १५ करोड आम्दानी गरेका थिए । विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले रु १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए । दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उनको भनाइ छ । उनले भने, “विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।” सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै-थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार÷पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५-२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, “बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।”

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उहाँले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर, दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक