२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

असला पारखीको गन्तव्य म्याग्दीको सिङा तातोपानी



बेनी । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ ।

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताइन् ।

“यसअघि तातोपानी डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ”, उनले भनिन्, “यहाँ आउने पाहुनाले असलालाई स्वादिलो मानेर कोसेलीका रूपमा लैजाने पनि गर्नुभएको छ ।”

जिल्ला सदरमुकाम बेनीबजारबाट आठ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक गत वर्ष कालोपत्र भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीहरूको गन्तव्य बनेको हो । बेनी, बागलुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताए ।

उनका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । “स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे”, बानियाँले भने, “पछिल्लो समय तातोपानी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।”

म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । अन्यत्रभन्दा तातोपानीका माछा बढी स्वादिष्ट मानेको बेनीका व्यवसायी कृष्णराज पौडेलले बताए ।

जाल, तेरी, ढडिया र बल्छीको माध्यमबाट माछा मारेर बेरोजगार युवाहरूले आम्दानी गरिरहेका छन् । ताजा माछाप्रति केजी रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । प्रतिप्लेट माछा रु चार सयदेखि पाँच सयमा बिक्री हुन्छ ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ भएको होटल हिमालयनका सञ्चालक कुमार केसीले बताए । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”, उनले भने, “माछा कमै पाइने भएकाले कोसेलीका रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको छ ।”

व्यवसायीका अनुसार दैनिक एक सय किलोग्रामभन्दा बढी माछा खपत हुने गरेको छ । माछासँगै कोदो र फापरको ढिँडोले यहाँका होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राइ आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल श्रेष्ठ हट स्प्रिङ इनका प्रबन्धक प्रशान्त श्रेष्ठले बताए ।

प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । गत साउनदेखि माघसम्म नौ हजार जनाले तातोपानी कुण्ड स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०८ बजे

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त