काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
उपराष्ट्रपति चयनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउँछन् । उपराष्ट्रपति चयन गर्न संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी कायम छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदका उम्मेदवारी दिएकी छिन ।
१० दलसहितको सत्ता गठबन्धनबाट ३ जनाको उम्मेदवारी छ । जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी छ । यद्यपि प्रमिला कुमारी यादवले पार्टीका नेता रामसहाय प्रसादलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।
उपराष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८१ जना मतदाता कायम भएका छन् ।
एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।
जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसन श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । उनको समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।
जनमत पार्टीकी नेत्री ममता झाको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् । उनको समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन् ।
फागुन २५ मा भएको निर्वाचनबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।
यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आजै सकिँदै छ ।



















प्रतिक्रिया