नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी प्रतियोगितामा भाग लिन एकजना खेलाडी हेलिकप्टर चार्टर गरेर नेपालगन्ज आइपुगेका छन् । विभागिय टोली एपिएफको तर्फबाट प्रतियोगितामा भाग लिएका काठमाडौंका दक्ष श्रेष्ठ प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर गरेर नेपालगन्ज आइपुगेका हुन् ।
लिंकन मावि काठमाडौंमा अध्यनरत १७ वर्षिय श्रेष्ठ आफ्नो अभिभावक आमा लिप्ती राईसँग नेपालगन्ज आइपुगेका छन् । पढाईलाई पनि निरन्तरता दिन र टिममा समय मै सहभागी हुन हेलिकप्टर प्रयोग गर्नुपरेको श्रेष्ठकी आमा राईले बताइन् । पौडी प्रतियोगिताको ‘ब्रेस्ट स्टोक’ इभेन्टमा भाग लिएका श्रेष्ठ पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको उनले बताईन् ।
श्रेष्ठ पहिलोपटक प्रतियोगितामा भाग लिएर पनि प्रतियोगिताको फाईनलमा पुगेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मंगलवार देखि नेपालगन्जमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालगन्ज रंगशालास्थित नेपालगन्ज पौडी पोखरीमा हुने प्रतियोगितामा ४६ स्पर्धा समावेश गरिएका छन् । जसमा ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहनेछन् ।
















प्रतिक्रिया