१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

टुटफुट र खण्डित कुरा नगर….



‘टुटफुट र खण्डित कुरा नगर
आत्मसर्मणको कुरा नगर
एकढिक्का एकताको कुरा गर
वीरताको कुरा गर…..’

टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् ।

‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे । क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे । न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।

गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर….’ गीत सबैले एकै स्वरमा गाए । गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन….’ लाई पनि कलाकारले सामूहिकरूपमा प्रस्तुत गरे ।

गायक शर्माले आफ्ना लोकप्रिय गीत ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई’लगायत सुनाए । गायक मोहित श्रेष्ठले ‘प्यारो जलजला’, गायिका निलीमा पुनले ‘लेख्दैछु चिठ्ठी तिमीलाई’ तथा गायक उदय श्रेष्ठले श्याम तमोटद्वारा रचित ‘पहाडका कुरा भए’ प्रस्तुत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रचना गरेका गीत ‘जनताको काखैमा बसेर’लाई गायक चिरन पुनले गाए । गायिका अनु शर्मा, काजी गाउँलेलगायतले पनि गीत सुनाए । पोखरास्थित सङ्गम सांस्कृतिक मञ्चका कलाकारले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरे ।

व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको गायक शर्माले बताए । “हामीले भनेजस्तो अझै भएको छैन”, उनले भने, “समाजमा अहिले पनि विभेद छ, शोषण छ, त्यसैले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको हो ।”

राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द गर्दै जनजागरण सिर्जना गर्न देशव्यापीरूपमा सङ्गीत अभियात्रा थालिएको गायक शर्माले बताए । सो अभियानमा २२ कलाकार सहभागी छन् । उक्त साङ्गीतिक समूहमा सङ्गीतकर्मी मणिचन्द्र थापा, उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, टेक बलम्पाकी, उदय रिजाल, लक्ष्मण पाख्रिन, नारायण शर्मा, कविता पुन, सन्ध्या मगरलगायत रहेका छन् ।

अभियात्राको दशौँ कार्यक्रम पोखरामा सम्पन्न भएको गायक विद्रोहीले बताए । कार्यक्रमको स्थानीय व्यवस्थापन र समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थाले सघाएका थिए । पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो । यही चैत ४ गते धनगढीबाट सुरु भएको सङ्गीत अभियात्राअन्तर्गत सातै प्रदेशका राजधानीसहित ठूला सहरमा कार्यक्रम केन्द्रित गरिएको हो । आगामी वैशाख ५ गते काठमाडौँमा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा साङ्गीतिक अभियान समापन गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ३६ बजे

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले