२१ माघ २०८२, बुधबार | February 4, 2026

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती



नेपालगन्ज । नेपालगन्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् ।

नेपालगन्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र साँघुरो कोठा छ । दिवा खाजाका लागि भान्छाका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षाकोठामा ३४ विद्यार्थी भर्ना भएका छन् ।

नेपालगन्जको तापक्रम बढ्ने क्रममा छ । त्यसै पनि शारीरिक र मानसिकरुपमा कमजोर बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरो कोठामा पसिनाले निथु्रक्क भिजेर बस्नुपर्दा उनीहरू शिक्षा आर्जनभन्दा पनि यातना भोग्दै गरेको आभास हुने गर्दछ ।

बौद्धिक अपाङ्गता भएका विद्यार्थीमैत्री भवन नभएका कारण गर्मी र जाडोको समयमा पठनपाठनमा समस्या हुने गरेको बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका शिक्षक विराज सिंहले जानकारी दिए । बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यावहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने सिंहको भनाइ छ ।

“प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राख्नुका साथै बालबालिकालाई सचरित्र वर्णन गराएर अनुकरण गराउने गरिन्छ”, शिक्षक सिंहले भने, “शौचालय र खानेपानीको पनि अभाव, साँघुरो कक्षाकोठा भएकाले विद्यार्थीलाई पठनपाठनमा धेरै असहज भइरहेको छ ।”

विसं २०४९ देखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक सङ्कट उत्पन्न भएको हो । अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा मङ्गलप्रसाद माविमा सुरु भएको सेवाकेन्द्र १६ वर्षसम्म राम्रोसँग सञ्चालन भइरहेको थियो । सहयोग रोकिएपछि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाको यो दिवा सेवा केन्द्रमा उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाटसमेत विद्यार्थी अध्ययनका लागि आउने गरेको सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताए ।

उनले विद्यालय भवन र आर्थिक स्रोतको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको वातावरण दिन नसकिएको सुनाए । बौद्धिक अपाङ्ग दिवासेवा केन्द्र सुस्त मनस्थिति अभिभावक सङ्घ नेपालगन्जको प्रत्यक्ष रेखदेखमा अहिले जसोतसो सञ्चालनमा रहेको छ । बाह्य सहयोगबाहेक कुनै पनि स्रोत नभएको यो सेवा केन्द्रको मासिक खर्च रु ६० हजार रहेको सुस्त मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त रकमबाट शिक्षक, रिक्सा चालकको पारिश्रमिक, बालबालिकाको खाजादेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ । विगत लामो समयदेखि न्यून तलबमा शिक्षक सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्ता भएका बालबालिकालाई पढाउने काम गर्दै आएका छन् ।

“सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन”, अध्यक्ष आचार्यले गुनासो सुनाए । उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक गोर्ख थापाले बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रमा भौतिक पूर्वाधारको कार्यक्रम नरहेको बताए । बौद्धिक अपाङ्गता भएका बालबालिकाको छात्रवृत्तिबापतको रकम उपमहानगरपालिकाबाट उपलब्ध गराइँदै आएको छ ।

वडा नं ९ का वडाध्यक्ष गोविन्द रेग्मीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकको बेवास्ताका कारण पनि केन्द्र राम्रोसँग सञ्चालन हुन नसकेको उल्लेख गरे । वडा कार्यालयबाट सम्भव हुने सहयोग गर्दै आएको जानकारी दिँदै उनले नेपालगन्जका सबै वडा कार्यालय र उपमहानगरपालिकाबाट पनि सहयोग हुनुपर्ने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ५ : ०६ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक