१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि एमाले नगर कमिटी बुटवलले बुझायो २४ बुँदे ध्यानाकर्षण



बुटवल । नेकपा एमाले बुटवल नगर कमिटीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधार तथा विस्तारका लागि  २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालमा ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने, सरकारले नि:शुल्क उपलब्ध गराउने औषधीहरुको विवरण सूचना पार्टीमा उल्लेख गरि पारदर्शी रुपमा सेवा उपलब्ध गराउनु पर्ने तथा रातको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्स-रे, भिडियो  एकस-रे लगायतका सेवाहरु सञ्चालन गर्न माग गरिएको छ ।

एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।  सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले सेवा सुधार तथा  विस्तारका लागि आफू प्रतिवद्ध भएको बताए । यसैगरी सुपरिटेन्डेन डा. थापाले सेवा सुधारका लागि आफूहरु प्रयासरत नै रहेको उल्लेख गरे ।  आफूहरु आइसकेपछि सुधारका कामहरु अघि बढेको बताउँदै उनले सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको उल्लेख गरे । अस्पतालमा सेवागाहीको चाप बढीरहेको बताउँदै थापाले सोही अनुसार जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौति समेत रहेको उल्लेख गरे ।

ध्यानाकर्षण पत्र बारे जानकारी गराउँदै एमाले अध्यक्ष ज्ञवालीले ओपिडी सेवामा भिडभाड बढेका कारण फरक-फरक ठाउँमा सेवा विस्तार गरि भिड कम गर्नु पर्ने, विमा सुविधालाई व्यवस्थित गर्नु पर्ने, अपरेशनका लागि महिनौं कुर्नु पर्ने वाध्यताको अन्त्य गर्नु पर्ने, अस्पताल भित्रै ब्लड बैंकको स्थापना गरि सेवालाई प्रभावकारी बनाउनु पर्ने, अस्पताल समयमा चिकित्सकहरुले बाहिरको निजी क्लिनिकहरुमा समेत काम गरेको गुनासाहरु आएका कारण त्यसको अन्त्यगर्नु पर्ने लगायतका बारे ध्यानाकर्षण गराए ।

अस्पतालको सेवाप्रति जनताको चासो र विश्वास घड्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ज्ञवालीले विशेषज्ञ सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको व्यवस्था तथा ल्याव परीक्षणलाई थप विश्वसनीय बनाउन आग्रह गरे ।

यस्ता छन् ध्यानाकर्षणका २४ बुँदाहरु

१. लुम्बिनी प्रदेशकै प्रमुख अस्पतालको रुपमा रहेको यस अस्पतालमा उपचारका लागि OPD मा दैनिक हजारौ विरामीहरु आउने गरेका छन् । १० देखि २ बजे सम्मको सेवाले मात्र बिरामीले सहज र गुणस्तरीय स्वास्थ्यसेवा लिन नपाइरहेको हुनाले OPD सेवालाई दुई सिफ्टमा विहान ७ बजेदेखि साझ ७ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछौ । यसका अतिरिक्त एकै ठाउमा सबै प्रकारका OPD सेवा प्रदान गर्दा भिडभाड र अव्यवस्थित भएको हुदा OPD सेवालाई फरक फरक स्थानमा विकेन्द्रकरण गरेर सेवाप्रवाह गर्नुहुन अनुरोध गर्दछौं ।

२. उपचारका लागि रोगको निदान निकै महत्वपूर्ण पक्ष हो । खासगरी ल्याबका रिपोर्टहरुको विश्वसनीयतामा विभिन्न समयमा प्रश्नहरु उठेका छन । गुणस्तरीय मेसिन इक्युपमेन्ट, गुणस्तरीय केमिकल र दक्ष जनशक्तिको सन्तुलनमा समस्या देखिएको बारे ध्यानाकर्षण गराउन चाहन्छौ ।

३. आकस्मिक उपचारमा पनि सिटिस्क्यान, भिडियो एक्सरे लगायतका सेवा रातको समयमा नहुनु, क्याथल्याबको मेसिन (सामग्री) भएर पनि सञ्चालन नहुन, MRI सेवा अस्पतालमा नहुनु जस्ता समस्याले गर्दा पनि यस क्षेत्रका नागरीकहरु स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यता रहेकोले यसको अन्त्यका लागि तत्काल पहल गर्नुहुन जोडदार माग गर्दछौं ।

४. अपरेसन थिएटर, आवश्यक मेसिन औजार, जनशक्तिको अभाव र कतिपय अवस्थामा उपरोक्त पक्षहरुको प्रभावकारी परिचालन नभएका कारणले विभिन्न रोगको उपचारका लागि अपरेसन गर्न लामो समयसम्म कुर्नुपर्ने बाध्यात्मक परिस्थिति रहनु मानवीयता र संवैधानिक हकबाट समेत बन्चित हुनुपर्ने असहज परिस्थितिको अन्त्य गरी सहज उपचार पाउने व्यवस्था मिलाउनु हुन जोडदार माग गर्दछौं ।

५ स्वास्थ्य विमाबाट सेवा लिईरहेकाहरुका लागि घन्टौ लाइनमा बस्नु पर्ने तथा चेकजाच, बिभिन्न परिक्षण र रिर्पोटका लागि २/३ दिनसम्म धाउनु पर्ने अवस्था छ । यसले सेवाग्राहीहरुलाई निकै अप्ठ्यारो परेको हुनाले यसको सहजीकरणका लागि आवश्यक कार्य गर्नुहुन र जेष्ठ नागरिक, अपाङ्ग, असक्तहरुको लागि लाइनमा नबसी उपचार गर्न पाउने व्यवस्था मिलाउनु हुन जोडदार माग गर्दछौं ।

६. नेपाल सरकारले प्रादेशिक अस्पतालमा विभिन्न प्रकारका औषधिहरु नि:शुल्क उपलब्ध गराएको छ तर अस्पतालमा त्यसको उपलब्धता छैन । अस्पतालबाट नि:शुल्क वितरण हुने औषधीहरुको बारेमा सूचनापार्टी राख्ने र नियमित औषधी उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध छ । यसका साथै स्वास्थ्य विमाबाट उपचार गराउने बिरामीहरुको लागि चिकित्सकले प्रेस्कृप्सन गरेका अधिकांश औषधिहरु अस्पताल फार्मेसीमा पाइंदैन, उपलब्ध भएपनि सब्सिच्यूट गरिन्छ । यो हुन आफैमा प्रोटोकल अनुसार उपचार नहुनु हो । यस्ता विषयलाई सुधार गरी भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न माग गर्दछौ ।

७. भर्ना भएका विरामीहरुको नियमित रेखदेख नहुने, विषेशज्ञ चिकित्सक सकेसम्म नजाने, गएपनि विरामीको विश्वास जित्नेगरी व्यवाहार नगर्ने, इन्टर्नमा आएकाहरुलाई नै परिचालन गरी सेवा प्रदान गर्ने प्रवृत्ति बढिरहेको छ । यस प्रकारको प्रवृतिको तत्काल अन्त्य गर्न माग गर्दछौ ।

८. अस्पतालले सञ्चालनमा ल्याएको EHS सेवामा सिनियर र विषेशज्ञ चिकित्सकहरु नबस्ने गरेको र शुल्क समेत नीजि स्वास्थ्य संस्थाकै हाराहारीमा रहेको हुनाले यो सेवालाई सर्वसुलभ र थप व्यवस्थित बनाउन माग गर्दछौ ।

९. डाक्टरहरुले दिने प्रेस्कृप्सनमा लेखिएका भाषा आम नागरिकले बुझ्न नसकेको व्यापक गुनासो रहेको छ । त्यसैले आम नागरिकले बुझने गरी सहज र सरल भाषामा प्रेस्कृप्सन लेख्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।

१०. चिकित्सकहरुले नेपाल सरकारले निर्धारण गरे अनुसार र अस्पताल प्रशासनले तोकेको सिफ्टमा अनिवार्य रुपमा ड्युटीमा बस्नुपर्नेमा सो समयमा समेत कतिपय चिकित्सकहरु अस्पताल बाहिर निजी क्लिनिकमा रहेको पाईएको छ । यसको तत्काल नियन्त्रण गर्नुहुन र अस्पतालको ५०० मिटरसम्म ड्यूटी आवर पछि पनि अस्पतालमा कार्यरत चिकित्सकले क्लिनिकमा काम गर्न नपाईने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छौ । कतिपय चिकित्सकहरुले अस्पतालभित्र उपचार नहुने र तत्काल पाली नआउने भनि आफुले काम गर्ने निजी संस्थामा उपचारका लागि सिफारिस गरिएको तत्थ्यहरु प्राप्त भएका छन । आगामी दिनमा यस्ता खालका गलत प्रवृत्तिले प्रसय नपाउने अवस्थाको ग्यारेन्टी गर्न माग गर्दछौ ।

११. मुलभूत रुपमा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्रशासनिक जनशक्तिको व्यवहार सेवाग्राहीमैत्री र मानवीय संवेदनशिलयुक्त बनाउनका लागि प्रत्येक ६ ६ महिनामा अस्पतालमा कार्यरत प्राविधिक तथा प्रशासनिक सबै जनशक्तिलाई नविन खोज र अनुसन्धानमा आधारित विषयगत ज्ञान र सेवाग्राहीमैत्री असल व्यवहार सम्बन्धी रिफेसर तालिम सञ्चालन गर्नुहुन जोडदार माग गर्दछौं ।

१२. समाजमा दिन प्रतिदिन विभिन्न प्रकृतिका घटनाहरु बढिरहेको परिस्थिती छ । घटनाको न्यायीक निरुपणका लागि समेत पोस्टमार्टम रिपोट निकै भरपर्दो प्रमाण मानिन्छ । यसैका आधारमा सजाय पाउने र त्यसबाट उन्मुक्ति पाउने अवस्था रहन्छ । यो संवेदनसिलतालाई ध्यानमा राखी अस्पलातमा फोरेन्सिक विषेशज्ञ चिकित्सकको दरबन्दी सृजना गरी सो मार्फत पोस्टमार्टम हुने व्यवस्था मिलाउन हुन र आवश्यकता अनुसार सहायक स्तरको जनशक्ति समेत थप गर्न माग गर्दछौ ।

१३. अस्पतालमा औषधि उपचारको क्रममा निस्कने औषधि तथा अस्पतालजन्य फोहोरमैलाको अत्यन्त संवेदनसिल भएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । मानव अङ्ग प्रत्यङ्ग, सिरिन्ज, केमिकल लगायतको बिसर्जन गर्दा तोकिएको प्रोटोकल अनुसार व्यवस्थित हिसाबले हुन नसकेको प्रति गंभिर ध्यानाकर्षण गराउदै वातावरणको संरक्षण, रोगको संक्रमण फैलिन नदिने र बाहिरी सौन्दर्यतामा समेत असर नगर्ने गरी प्रोटोकल अनुसार नै गर्ने व्यवस्थाका लागि माग गर्दछौ ।

१४. अस्पताल परिसरमा भएका शौचालयहरुको मर्मत सम्भार र स्तरोन्ती गर्ने महिला र अपांगमैत्री आधुनिक सुविधासम्पन्न शौचालयहरु निर्माण गर्ने र शौचालयहरुमा २४ सै घण्टा प्रप्याप्त पानीको व्यवस्था मिलाउनुहुन जोडदार माग गर्दछौं । यसका अतिरिक्त बार्डहरु, ओपिडी, सेवाग्राही बस्ने स्थान लगायत सम्रग अस्पताल परिसर २४सै घण्टा सरसफाईयुक्त राख्न समेत जोडदार माग गंदछौ

१५. अस्पतालमा सधैजसो सयौंको संख्यामा भर्ना भएका बिरामीहरु भर्ना हुन्छन तर विरामीको सहयोगका लागि आएका आफन्त वा कुरुवाहरु बस्ने व्यवस्था अस्पतालमा नभएकाले गल्ली, बेडको तलमाथि वस्ने र समानहरु यत्रतत्र राख्नाले एकातर्फ सेवा प्रवाहमा समस्या भएको छ भने अर्कोतर्फ अस्पताल नै अस्तव्यस्त र फोहोर देखिन्छ । त्यसैले विरामीका कुरुवाहरु वस्नका लागि आवश्यक सुविधा सहितको कुरुवा घरको निर्माण तथा सञ्चालन गर्नुहुन माग गर्दछौ ।

१६. अस्पतालमा उपचारका लागि रगतको उपलब्धता निकै महत्वपुर्ण विषय हो । प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने विरामीको लागि निशुल्क रगतको व्यवस्था समेत गरेको परिवेशमा अभिलेख व्यवस्थापनमा विश्वसनीयता कायम गर्न र विरामीहरुले छिटो छरितो र सहज सेवा प्राप्त गर्नका लागि अस्पताल हाताभित्रै ब्लडबैंक स्थापना गर्न माग गर्दछौ । रुपन्देही व्यापार संघले अस्पताल प्रशासनसंगको सम्झौताका आधारमा निर्माण गरेको ब्लडबैकको सञ्चालन गरी बिरामीहरुलाई सेवा उपलब्ध गराउनु हुन जोडदार माग गर्दछौ ।

१७. अस्पतालको सेवा लिन टिकट काउण्टर र विलिङ्ग काउण्टरमा हुने भिडलाई घटाउन काउन्टर थप गर्ने र अनलाईन टिकटको व्यवस्था मिलाउने, आकस्मिक कक्षमा एउटा बेडमा २/३ जना बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आकस्मिक कक्ष १०० शैयामा विस्तार गरी सेवा प्रदान गर्न माग गर्दछौ ।

१८. अस्पतालले प्रदान गर्ने सेवासुविधा र सेवा प्रदान हुने समय र स्थानका बारेमा सेवाग्राहीलाई जानकारी दिन प्रवेश गेटको नजिकै सूचना डेस्क सहितको सहायता कक्ष स्थापना गर्न, समग्र अस्पतालको ले आउट, सेवा प्राप्त हुने भवन र कोठा नम्बर सहितको सुचना बोर्ड समेत अस्पताल परिसरभित्र राख्ने व्यवस्था मिलाउनु हुन माग गर्दछौ । अस्पतालमा आउने सेवाग्राही तथा बिरामीहरुले डाक्टरसंग चेकजाच गर्ने बेलामा कुनुपर्ने स्थानहरुमा कुर्ची, पिउनेपानी, पंखा, टेलिभिजन लगायतका सामाग्रीहरुको व्यवस्थापन गर्नुहुन माग गर्दछौं ।

१९. अस्पतालको सेवा, आय-व्यय र सञ्चालित योजनाका विषयमा हरेक ६ महिनामा नागरिक सुनुवाई गरी गुनासा सुन्ने, सुझाव ग्रहण गर्ने, भएका काम कारवाहीको जानकारी दिने व्यवस्था मिलाउन माग गर्दछौ ।

२०. अस्पताल हाताभित्र रहेको चमेना गृहको विषयमा बेलबेलामा विभिन्नप्रकारका टिकाटिप्पणीहरु आईरहेकै छन् । चमेनागृह जस्तो संवेदनशिल स्थान २४ सै घण्टा सरसफाईयुक्त हुन जरुरी छ । चमेनागृहमा पाक्ने परिकारहरु स्वच्छ ताजा 7 सफा हुनुपर्दछ । परिकारहरु बनाउदा अखाद्यवस्तुहरुको मिसावट दण्डनिय छ । चमेनागृहमा देखिएका समस्याहरुलाई तत्काल समाधान गरेर चमेनागृहलाई थप व्यवस्थित बनाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।

२१. बुटवल मुलककै प्रमुख शहरमध्ये एक हो । लुम्बिनी प्रदेशको प्रमुख अस्पताल नै लुम्बिनी प्रादेशिक अस्पताल हो । आज मानिसको जन्म र मृत्यु समेत अस्पतालमै हुन्छ भन्दा अतियुक्ति हुदैन । प्रारम्भिक कालमा यसको विकासमा केही संघसंस्था र समाजसेवी व्यक्तिहरूले सहयोग पनि गरेका थिए तर पछिल्ला दिनहरुमा अस्पतालप्रति आम बुटवलबासी नागरीकको चासो क्रमशः घटदै गईरहेको छ । अस्पताल सरकारको मात्र होइन यो समुदायको सम्पति हो र यसको विकास एवं विस्तार गर्नु सबैको साझा दायित्वको विषय हो भन्ने मनोविज्ञान विकास गर्नु जरुरी छ । बुटवलका संघसंस्था र नागरीकले अपनत्व प्राप्त गर्ने गरी समितिको पदेन सदस्य, सल्लाहकार र अस्पताल विकास सहयोग समिति बनाई परिचालन गर्न सकेमा श्रोत व्यवस्थापन, संरक्षण र विकासमा सहयोग पुग्ने देखिन्छ । यसैले प्रदेश सरकारको स्वीकृतिमा आवश्यक नीति बनाई अस्पतालको विकासमा समग्र बुटवलवासी परिचालित हुने वातावरण सृजना गर्नुहुन माग गर्दछौं ।

२२. लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडी बढाएको छ । विभिन्न समयमा आर्थिक अपचलनका लागि गरिएका प्रपन्चले यो आयोजनाको कार्यान्यन प्रक्रिया विलम्ब हुँदै गइरहेको विषयलाई गंभिरता पुर्वक लिई यहाँका जनप्रतिनिधि र प्रदेश सरकारको समेत सहयोगमा सृजित समस्याको निकारण गरी यथासिघ्र आयोजना निर्माणको काम अगाडि बढाउन आवश्यक पहल गर्नुहुन माग गर्दछौ ।

२३. कुनैपनि रोग निको हुनका लागि परामर्श सेवाको पनि त्यत्तिकै महत्वपुर्ण भूमिका रहेको हुन्छ । यस अस्पतालमा परामर्शसेवा ज्यादै नाजुक रहेको छ । बिरामी अस्पताल आइसकेपछि उसलाई के भएको हो, के कारणले यस्तो हुन्छ रोगको समग्र उपचार प्रक्रिया के हो, कति समय औषधी सेवन गर्नु पर्छ, आहार विहार कस्तो हुनु पर्ने हो, उपचारका क्रममा आउन सक्ने समस्या के के हुन् र कस्तो खालको जीवनशैली अपनाउदा आगामी दिनमा जोखिम कम हुन्छ र रोग निको हुन्छ आदीको विषयमा परामर्शसेवा प्रदान गर्नु अस्पतालको दायित्वको विषय हो भने नागरीकको अधिकारको विषय हो त्यसैले प्रभावकारी परामर्शसेवा सञ्चालन गर्न माग गदछौं ।

२४. रोगका प्रकृति अनुसार खानपान र आहार विहारमा पनि फरक गर्नुपर्ने हुन्छ । कसैलाई Low potaciam कसैलाई High Protin, Low protin कसैलाई Soft diet र कसैलाई Normal diet आवश्यक पर्दछ । त्यसैले विरामीको अवस्था अध्ययन गरी आवश्यकता अनुसार diet सिफारिस गर्नको लागि अस्पतालमा dietitian को दरबन्दी सृजना गरी कार्यान्वयन गर्नुहुन माग गर्दछौ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ०४ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई