३ पुस २०८२, बिहिबार | December 19, 2025

सुनिन छाड्यो असारे भाका



‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

पोखरा । लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा पुग्दा पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकी खिनी तिमिल्सिना निकै चिन्तित छिन् ।

शुक्रबार हेमजामा भएको रोपाईं महोत्सवमा खिनी तिमिल्सिना श्वास पु¥याइ–नपु¥याइ असारे भाका गाउन थालिन् । गीत गाउँदा उनी एक्लै परिन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारेगीत नसुनिएको खिनीले बताइन् । पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उनको भनाइ छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।

उमेरले ७१ वर्ष लागेकी उनलाई विमारले छोएपछि केही वर्ष गाउन छाडिन् । नयाँ पिँढीलाई असारे गीत गाउनै आउँदैन । खिनीलाई असरे भाका हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ । त्यसैले आफ्नै ठाउँमा आयोजना भएको महोत्सवमा धोको पुगुञ्जेल गाइन् । “म बिरामी भएर गाउन सकिनँ”, खिनी तिमिल्सिनाले भनिन्, “मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ ।” बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने गर्ने हुँदा असारे गीतको रौनक घटेको उनी बताउँछिन् । पछिल्लो सयममा रोपाइँको क्रममा असारेगीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उनले बताइन् ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । फेरि उनले भाका हाल्न सुरु गरिन् ।

‘असार मासको छिपछिपे हिलो, छिः मलाई घिन लायो
जेठी र कान्छी नगरे झगडा
कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर
चुधरी चोलियामै सिलाइ दिउँदा बाहुली पसार
पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’

लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरेकी छन् । “अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु”, उनले भनिन्, “अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।” संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ ।

शुक्रबार नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १८ औँ असारे रोपाइँ महोत्सवमा पनि असारे गीत वीरलै सुनियो । महोत्सव हेर्न पुगेका युवायुवती हिलो खेल्न व्यस्त भए पनि उनीहरुलाई असारे गीत, धान रोपाइँ र बिउ काट्ने कुनै चिन्ता थिएन् । त्यही हुलमा पोखरा महानगरपालिका–२८ को काफलघारी आमा समूह भने जानी नजानी गीत गाउन सिक्दै थिए ।

‘वनमा खेल्ने चरा र चुरी माछी त लेउमा
यो ८० सालको रोपाइँ महोत्सव वियजपुर छेवैमा ।।
माझठानाको टारी बैदामको बारी नामै छ प्रख्यात
आर्वाको घारी रमाइलो गरौँ अहिलेको वर्ष त ।।’

आमा समूहको उद्देश्य पनि हराउँदै गएको असारे भाका जोगाउने भन्ने नै थियो । आमाहरुले जस्तै खाट्टी असारे भाका आफूहरुलाई पनि नआउने काफलघारी आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले बताइन् । “असारे गीत पहिलाका बूढाबूढीले जस्तो गाउन जानिँदैन । यो संस्कृति जोगाउनका लागि जानी नजानी गाइएको हो”, उनले भनिन्, “अब आउने पुस्ताका लागि सिकाउन बूढाबूढीलाई भेटेर गाउन लगाएर मोबाइलमा सेभ गरेर राख्ने अनि हामीले सिक्ने छोराछोरीलाई पनि सिकाउने योजना छ ।”

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ५२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको