१८ चैत्र २०८२, बुधबार | April 1, 2026

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका



डडेल्धुरा । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ ।

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् । कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

“आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन”, अजयमेरु गाउँपालिका-१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भने । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उनको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेको पाइएको छ । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् ।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको सङ्ख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफुसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुुहारले बताए ।

“रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ”, उनले भने-“छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।”

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : ५८ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको