१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग



नेपालगन्ज । बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् ।

विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका छात्रालाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुँदै आएको जनाइएको छ । सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर दक्षिणपूर्व भारतीय सीमासँग जोडिएको नरैनापुरमा कक्षा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालन भए पनि अहिलेसम्म स्नातक तह अध्ययन गर्न राप्ती सोनारी गाउँपालिका वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीय युवा विनय दीक्षितले बताए ।

गाउँपालिकामा क्याम्पस नहुँदा १२ कक्षा पास गरेपछि नरैनापुरका अधिकांश छात्राले पढाइ छाड्ने गरेका छन् । आफ्नै गाउँमा स्नातक तहको पढाइ हुने क्याम्पस सञ्चालन भए उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाहना पूरा हुने र शिक्षामा नरैनापुरको अवस्था सुधार हुँदै जाने दीक्षितको भनाइ छ ।

मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको नरैनापुर शिक्षाको क्षेत्रमा पछाडि परेको छ । यहाँका अधिकांश अभिभावकले छोरीलाई पढाइका लागि अझै पनि घर छाडेर बाहिर पठाउन हिच्किचाउने गरेका कारण उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या न्यून रहेको स्थानीय युवा सकीर खानले बताए ।

गाउँपालिकामै क्याम्पस सञ्चालनका लागि गाउँपालिका कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै तयारी गरिएको क्याम्पस स्थापना समितिका संयोजक सोहनलाल यादवले बताए ।

“गाउँपालिकामा बहुमुखी क्याम्पसको आवश्यकता ठानेर स्थानीय युवा वुद्धिजीवीको अगुवाइमा प्रस्तावित सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापनाका लागि तयारी गरिएको छ”, उनले भने, “क्याम्पस स्थापनार्थ नरैनापुर गाउँपालिकाको समन्वय तथा सहकार्यमा यस क्षेत्रका सङ्घीय सांसद सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग भेला र छलफल सम्पन्न भएको छ ।”

गाउँपालिका अध्यक्ष इस्तेयाक अहमद साहले नरैनापुरमा क्याम्पस सञ्चालन गर्ने आफ्नो मनैदेखिको इच्छामा युवाले अग्रसरता देखाउँदा खुसी लागेकोे उल्लेख गर्दै गाउँपालिकाबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता जनाए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नरैनापुरमा युवा वर्गबाट स्वःस्फुर्तरूपमा क्याम्पस स्थापनाका लागि पहल गरिनु सकारात्मक भएको जनाउँदै आफूले सक्दो सहयोग गर्ने बताए । नरैनापुर गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनाका लागि गाउँपालिका कार्यालय र क्याम्पस स्थापना समितिले नेपालगन्ज उपमहानगरपालिकालगायत अन्य स्थानीय तहसँग समेत आवश्यक समन्वय गरेको संयोजक यादवले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  १० : २९ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा