१० भदौ २०८३, बुधबार | August 26, 2026

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता



बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने निष्कर्षसहित बाँकेका पत्रकारहरूले सक्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको अन्तरक्रिया तथा वनभोज कार्यक्रममा सहभागी पत्रकारहरूले नरैनापुरमा प्रशस्त पर्यटन सम्भावना रहेको औंल्याउँदै मिडियामार्फत यसको प्रचार-प्रसार गर्न सकिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू नेतृत्वमा आएपछि स्थानीय तहमा पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रमलगायत धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धनमा गाउँपालिकाले विशेष पहल गरेको उनको भनाइ थियो । “केही वर्षअघि सन्तानेश्वर मन्दिरमा हजारौँ दर्शनार्थी भित्र्याउने अभियान सफल भएको थियो,” उनले भने, “आगामी दिनमा पनि मिडिया र स्थानीय सरकार मिलेर पर्यटन प्रवद्र्धनमा अघि बढ्न चाहन्छौँ ।”

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि गाउँपालिका र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको बताए ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले प्राकृतिक विविधताले भरिपूर्ण नरैनापुर पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए । “यहाँको शीतल हावापानी, जैविक विविधता, धार्मिक स्थल, कृषि र ग्रामीण जीवनशैली नै पर्यटनका बलिया आधार हुन्,” उनले भने, “यी पक्षलाई प्रभावकारी रूपमा उजागर गर्न सञ्चारको ठूलो भूमिका छ ।”

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुरलाई ‘भर्जिन ल्याण्ड’ को रूपमा चित्रण गर्दै पर्यटनले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने बताए । उनले पत्रकार महासंघ र गाउँपालिकाबीचको सहकार्यले पर्यटन प्रवद्र्धन, संरक्षण र पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले प्रस्तुत गरेको ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक कार्यपत्रमा धार्मिक, प्राकृतिक, सांस्कृतिक, ग्रामीण तथा कृषि पर्यटनको प्रशस्त सम्भावना रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा पर्याप्त प्रचार-प्रसारको अभावले सम्भावनाहरू पूर्ण रूपमा उजागर हुन नसकेको जनाउँदै, डिजिटल माध्यमको प्रयोग, स्थानीय पहिचानको संरक्षण र लगानी आकर्षणका लागि सञ्चार माध्यमको सक्रिय भूमिका आवश्यक रहेको सुझाव दिइएको छ ।

कार्यक्रमको अन्त्यमा पाँच बुँदे नरैनापुर घोषणा-पत्र जारी गरिएको छ । घोषणापत्रमा धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार-प्रसार, चुरे क्षेत्रमा पर्यापर्यटन र पदयात्रा प्रवर्द्धन, नयाँ गन्तव्यको पहिचान, तथा मिडिया र स्थानीय सरकारबीच दीर्घकालीन सहकार्यलाई प्राथमिकतामा राखिएको छ । उक्त घोषणा-पत्र अन्नपूर्ण पोस्टका पत्रकार शंकरप्रसाद खनालले प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, गाउँपालिकाका कर्मचारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ८ : ०४ बजे

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने