२४ माघ २०८२, शनिबार | February 7, 2026

सुनसान कटारी बजार



कटारी ।

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार !!!

तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, ‘‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’’

साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आइपुगेका थिए । ‘‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’’, साह भन्छन्, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे ।’’ कटारी बजार सगरमाथाको द्वारको रुपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाकाहरु बताउँछन् ।

विसं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री स्व बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।

सडक निर्माणसँगै पहाडी जिल्लाहरुमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरु हिंड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरु त्यतैबाट हिँड्न थाले ।’’

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो ।

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भएपनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरु सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो ।’’

कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउनुहुन्छ । उनी भन्छन्, ‘‘व्यापारीहरु अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन् । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो ।’’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ११ : ५० बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड