२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

दलालसँग मिलेर ज्वाईले पारे ससुराली दम्पत्तिको ‘बिल्लीबाँठ’



बुटवल । खातामा पैसा नभएको चेक बुझेर घर पास गरिदिएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ की ५९ वर्षीया मनरुपा रेग्मी र ७२ वर्षीय श्रीमान रत्नखर रेग्मीको दम्पत्ती न खातामा पैसा न हातमा घरको अवस्थामा पुगेका छन् । आफन्तको विश्वासमा चेक बुझेर घर पास गरिदिँदा उनीहरुको हातबाट जग्गा पनि गुमेको छ भने हातमा पैसा पनि पर्न सकेको छैन ।

ऋण तिर्न भन्दै हतारिएर घर बिक्रि गर्दा जग्गा दलाल र रेग्मी दम्पत्तीको ज्वाई आफैले रेग्मी दम्पत्तीको बिल्लीबाँठ बनाईदिएका छन् ।

रुपन्देही शुद्धोधन-४ (साविक सौ-फर्साटिकर-८) मा मनरुपाको नाममा रहेको कित्ता नम्बर २३८६ को १५ धुर एक तले घर साहूको ऋण तिर्न भन्दै हतारिएर बिक्री गर्न पुगेका रेग्मी दम्पत्तीले विश्वासकै आधारमा बैंकको चेक बुझेर नामसारी गरिदिएका थिए । घर पास गरिदिँदा मालपोतका हाकिम सामु चेक बुझेपनि आफुहरुले सबै पैसा बुझेको वयान दिएका रेग्मी दम्पत्ती चेकमा पैसा नभएको पुष्टी भएपछि छाँगाबाट खसेको जस्तो भएका थिए । जग्गा दलाल र ज्वाई नाता पर्नेले कारोबारभन्दा पछिल्लो मितिका ३ वटा चेक थमाएर दलालले उनीहरुबाट घर फुत्काएर तेस्रो व्यक्तिलाई बिक्रि गरिसकेका छन् । कारोबार भएको २ वर्षसम्म पनि रेग्मी दम्पत्तीको हातमा रकम भने परेन । यसरी दलालले घर कुम्ल्याएपछि उनीहरुले नत साहुको ऋण तिर्न सके, न त सम्पत्तिनै आफ्नो नाममा रह्यो ।

आफ्नै माहिलो ज्वाइ लेखनाथ लम्सालले दलालसँग मिलेर रेग्मी दम्पत्तीलाई ६४ लाख बुझाउने गरी ७० लाख मुल्यमा घर बिक्री गरेका थिए । सो बापत पीडित दम्पत्तीले ४ लाख नगद प्राप्त गरेका छन् भने बाँकी ६० लाख पाउने कुनै अत्तोपत्तो छैन । त्यसो त उनीहरु पटक पटक चेक साट्न बैंक नगएका होईनन्, तर चेकमा पैसा नभएको बैंकको जवाफ पछि ज्वाई लेखनाथ सँग बुझ्दा लेखनाथ र जग्गा दलालले आफुहरु ग्यारेन्टी बसिदिने र नगदै पैसा आउने भन्दै आश्वासन दिएको रेग्मी दम्पत्तीले बताए । ज्वाई र दलालको विश्वासमा पर्दा चेक बाउन्स गर्ने म्याद पनि सकिएको छ । चेक बाउन्सको कानूनी मान्यता सकिएपछि रेग्मी दम्पत्ती अलपत्र परेका छन् ।

पीडित दम्पत्तीलाई अलपत्र पार्ने मुख्य योजनाकार आफ्नै ज्वाई सहित बुटवल उपमहानगरपालिका–१२ तामनगरकी माया सुवेदी भएको उनीहरुले बताए । सुवेदी र लेखनाथले पैसाको ग्यारेन्टी लिएर रेग्मी दम्पत्तीले कपिलवस्तुका खुम्भज गिरीलाई घर बेचेका थिए । खुम्भजले उक्त घर रेग्मी दम्पत्तीबाट किनेर तेस्रो व्यक्तिलाई बिक्रि गरिसकेका छन् ।

ज्वाई लेखनाथ अर्घाखाँचीको सिमलपानी-९ बाट रेग्मी परिवारसँगै रुपन्देहीमा बसाई सरेर आएका हुन् । वैदेशिक रोजगारीमा रहेका लेखनाथले जग्गा दलाल माया सुवेदीसँग फेसबुकको माध्यममा चिनजान भएको बताए । चिनजानकै आधारमा आफ्ना ससुरालीले घर बिक्रि गर्न खोजेको कुरा लम्सालले मायालाई सुनाएका थिए । सोही आधारमा लम्साल रोजगारबाट नेपाल फर्केपछि मायासँग मिलेर कपिलवस्तुका खुम्भजलाई ल्याएर रेग्मी दम्पत्तीको घर किनबेच गराएका थिए । किनबेचमा मुख्य दलालको रुपमा देखिएकी मायाले नै आफूलाई समेत धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत बिग्रिने अवस्थामा पुगेको लेखनाथले गुनासो गरे ।

लम्सालका अनुसार ७० लाखमा घर जग्गा किनबेच भएको कागज बनाइए पनि रेग्मी दम्पत्तीले पाउने रकम भने ६४ लाख मात्रै थियो । अन्य ६ लाख रुपैयाँ दलाल माया सुवेदी र लम्सालले लिने सहमति बनेको थियो । सोही सहमति अनुसार २०७८ मंसिर १५ गते मालपोत कार्यालय भैरहवामा गएर रेग्मी दम्पत्तीले कपिलवस्तुका गिरीलाई घर पास गरिदिए । घर बापत पाउनु पर्ने ६४ लाख मध्ये रेग्मी दम्पत्तीले ४ लाख रुपैयाँ नगद बुझे पनि अन्य रकम भने बैंकमा पैसा नै नभएको चेक समाएर घर फर्किए ।

घर बापत मनरुपाको नाममा २०७८ माघ १५ गतेको मिति राखी पच्चिस लाखको चेक काटिएको छ भने २०७८ चैत्र १० गतेको मिति राखी २८ लाखको चेक थमाइएको छ । यसैगरी कारोबार भएको मितिभन्दा २ दिनपछि २०७८ मंसिर १७ गतेको मिति राखी १० लाख रुपैयाँको चेक काटिएको छ । मंसिर १७ गतेका लागि काटिएको चेक मध्येबाट रेग्मी दम्पत्तीले ३ लाख रकम प्राप्त गरे । ज्वाई लेखनाथका अनुसार १० लाखको चेक बिग्रीएको भन्दै घर खरिद गर्ने व्यक्तिले त्यस बराबरको नगद रकम नै उपलब्ध गराउने बाचा गरेका थिए । सोही अनुसार उक्त चेक बापत ३ लाख र त्यसअघि विभिन्न मितिमा १ लाख गरी रेग्मी दम्पत्तीले ४ लाख नगद प्राप्त गरेका हुन् । रेग्मी दम्पत्तीले २५ लाख, २८ लाख र १० लाखको चेक मध्येबाट ७ लाख गरी ६० लाख रकम पाउन बाँकी रहेको लम्सालले बताए ।

मनरुपा चेक लिएर बैंकमा साट्न जाँदा खातामा पैसा नै नभएको थाहा पाएपछि जग्गा दलाल माया सुवेदी र खरिद गर्ने खुम्भज गिरीले चिन्ता नगर्न आग्रह गर्दै त्यस बापतको नगद रकम नै उपलब्ध गराउने आश्वासन दिएका थिए । यसरी पटक-पटक ताकेता गर्दा पनि पाउनु पर्ने बाँकी रकम हात नपरेपछि रेग्मी दम्पत्तीले चेक बाउन्स गराउने चेतावनी दिँदा जग्गा दलाल माया सुवेदीले त्यसो नगर्न आग्रह गर्दै नगद रकम नै उपलब्ध गराउने आश्वासन दिँदै आएको मनरुपाले बताइन् । कारोबार भएको २ वर्षसम्म पनि हातमा पैसा नपरेपछि रेग्मी दम्पत्ती अहिले न्यायको खोजी गरिरहेका छन् ।

रेग्मी दम्पत्तीको जग्गा खरिद गर्ने व्यक्ति खुम्भज गिरीको ९८५११२१८२५ नम्बरको मोबाइल अफ गरिएको छ । उनले उक्त घर तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई बिक्री गरिसकेको मालपोत कार्यालय भैरहवामा रेकर्डमा देखिन्छ । किचनबेचमा मुख्य भूमिका निभाउने माया सुवेदीले खुम्भजले धोका दिँदा आफु मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताइन् । सुवेदीले खुम्भजले जग्गा बेचेको नभएर दृष्टीबन्धकमात्र गराएको दाबी गर्दै आफु पनि खुम्भजको खोजीमा रहेको बताइन् । जग्गा किनबेचका क्रममा आफु खुम्भजसँग फँसेको बताउँदै खुम्भजकै बदनियतले आफु निकै अप्ठेरोमा परेको बताइन् ।

रेग्मी दम्पत्तीकी कान्छी छोरी आशा रेग्मीले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् । कक्षा १२ सम्म अध्ययन गरेकी उनले घर बेचेर आएको रकमले साहूको ऋण तिर्ने र बाँकी रकमले घर खर्च र आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना बनाएकी थिइन् । रेग्मी दम्पत्तिको छोरा छैनन् । ६ बहिनी छोरी मध्य माइली छोरीको श्रीमान हुन् लेखनाथ लम्साल । घर बेचेर ऋण तिर्ने र छोरीलाई पढाउने सपना तिनै ज्वाई लेखनाथ र दलाल मायाले चकनाचुर पारिदिएका छन । सो घर रेग्मी दम्पत्तीले वर्ष अघि ७३ लाखमा किनेका थिए । आर्थिक मन्दी र ऋणको भार थपिँदै गएपछि उनीहरु घाटा खाएरै भए पनि बिक्री गर्न राजी भएका थिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : ४७ बजे

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर

पूर्वन्यायाधीशको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक