३ पुस २०८२, बिहिबार | December 19, 2025

सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै



काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन विरुद्धको अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर सुरुमा सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे ।

बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका हुन्। नेता सिंहको २६औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ११ : ५८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको