१५ चैत्र २०८२, आइतबार | March 29, 2026

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता



मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उनले बताए ।

“विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, अधिकारीले भने, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।”

नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताए ।

“जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उनले भने । दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो समय हराउँदै जान थालेको छ । एक दशकअघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षमा हराउँदै जान थालेका हुन् ।

दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्छ । तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीले बताए । दसैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाइन्छ ।

“दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ”, उनले भने, “विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।”

जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङ सहरी क्षेत्रमा देखिएका छैन भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको कावासोती नगरपालिका–१७ का ७४ वर्षीय युक्तप्रसाद गौडेलले बताए। दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उनको भनाइ छ ।

“वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि पहिलाको जस्तो पिङ खेल्ने, दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, उनले भने । एकातिर बस्ती बाक्लिदै जानु र अर्कोतर्फ मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा खेललाई कानुनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि लोप भएको छ ।

विशेष गरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको बुढापाका बताउँछन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : २० बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको