१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते



म्याग्दी । ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ ।

धौलागिरि गाउँपालिका-७ स्थित ताकमकोतमा बडादशैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ।

ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जिते । सोही वडाका अध्यक्षसमेत रहेका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका हुन ।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।

पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।

यसअघि विसं २०७८/२०७९ मा विजयी भएका मालिका गाउँपालिका-१ निस्कोटका याम परियार दोस्रो बने । विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिए भने २०७९ मा यामसँग पराजित भएका थिए । निरन्तरको अभ्यास, शारीरिक व्यायम र स्वच्छ खानपानले उपाधि जित्न सहयोग गरेको उनको भनाइ थियो ।

“विसं २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन”, खत्रीले भने, “यसपालि करिब एक महिनादेखि तयारी गरेको थिए । सफल भए । सोख पूरा भएको छ । खुसी छु ।” मालको सम्मानले समाजमा स्थापित गराउन र गत निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ ।

भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका र स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटीका अध्यक्ष पनि हुन । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने उनको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले सम्मान गर्नाका साथै स्थानीयवासीले काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए ।

माललाई फेटा गुटाएर सम्मानका साथै नगद उपहार दिने चलन छ । म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । यस वर्षको दशैँको नवमीका दिन करिब पाँच हजारभन्दा बढीले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताए ।

कोतघर र मन्दिर पुुनःनिर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ । समुुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ४१ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा